अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय संकटकाल घोषणा,


 


एजेन्सी फागुन ४
राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले मेक्सिकोसँगको खुल्ला सीमाबाट ‘राक्षसहरुको समूह’ र ‘लागू औषध’ तस्करहरु भित्रिएका कारण अमेरिकी जनतालाई दु:ख भएको भन्दै राष्ट्रिय संकटकाल घोषणा गरेका जनाएका छन् ।

गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी र तस्करहरुका कारण अमेरिकामा संकट आएको भन्दै अमेरिकाको दक्षिणी क्षेत्रमा मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउन उनले तल्लो सदन कंग्रेस समक्ष बजेट माग गरेका थिए। तर डेमोक्रेटहरुको असहयोगका कारण उनको त्यो माग पुरा नभएपछि कंग्रेसलाई बाइपास गर्दै संकटकाल घोषणा गरिएको हो।

संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झण्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने उनले बताए ।

राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको संकट समाधान गर्ने दाबी गरे । मेक्सिकोको सीमाबाट लागूऔषध कारोबारी र अवैध आप्रवासीहरुको आक्रमण भइरहेकाले अब त्यो समाधान हुने दाबी उनको थियो ।

विपक्षीले मुद्दा हाल्ने
विपक्षी डेमोक्र्याटहरूले राष्ट्रपतिको घोषणालाई शक्तिको दूरूपयोग भनेका छन्। उनीहरूले ट्रम्पले हालैको अमेरिकी खर्चबन्दी दोहोरिन सक्ने सम्भावनालाई रोक्ने मनसायले खर्च विधयेकसहितको एक योजनामा हस्ताक्षर गरेका थिए।

तर अमेरिकी संसद कङ्ग्रेसले उक्त विधयेकमा पर्खाल निर्माणको खर्च नबेहोर्ने भनेपछि ट्रम्पले संकटकाल लगाएर अन्यत्रबाट पैसा जोहो गर्न भन्दै यस्तो कदम चालेका हुन्।

डेमोक्र्याट्स पार्टीका उच्च नेताहरुले ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन् । संकटकाल घोषणासँगै ट्रम्पले अर्बौँ डलर पैसा आफ्नो पर्खाल बनाउने योजनामा प्रयोग गर्न पाउने उनीहरूले बताएका छन् ।

संकटकाल लगाउने विषयमा ट्रम्पको रिपब्लिकन पार्टीकै केही नेताले विरोध गरिरहेको अवस्थामा ट्रम्पको निर्णय विरुद्ध अदालतमा मुद्दा दायर गर्ने विपक्षीको योजना छ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्