गुट–उपगुट र देउवाले गर्दा पार्टी कमजोर भयो –काङ्ग्रेस नेताहरु


 


पर्सा, ४ फागुन  नेपाली काङ्ग्रेस भित्रको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको काङ्ग्रेसका नेताहरुले धारणा व्यक्त गरेका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले फागुन ४ गते वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरुले पार्टीभित्रको गुट–उपगुटलाई समाप्त नपारे सङ्घीयता नै धरापमा पर्ने खतरा उत्पन्न भएको विचार व्यक्त गरे ।

जिपी फाउण्डेशन पर्साको कार्यालय उद्घाटन तथा फोटो प्रदर्शनी कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको गुट–उपगुटले काङ्ग्रेसलाई कमजोर बनाएकाले जनताका मुद्दामा सङ्घर्ष गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिपी फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले स्व गिरिजाप्रसाद कोइरालाले राखेको संसद् पुनस्र्थापनाको जगले नै राष्ट्रलाई निकास दिएको तथ्यलाई कसैले पनि बिर्सिन नहुने चर्चा गरिन । उनले जिपी कोइराला फाउण्डेशनले देशभरि सामाजिक कार्य मात्र गर्ने जानकारी दिइन् ।

जिपी कोइराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसका नेताहरुभित्र अहिले नैतिकता र संस्कारको कमी भएको धारणा व्यक्त गरे । “नैतिकता नभएका व्यक्तिले राजनीतिक गर्नु नै सामाजिक अपराध हो र नैतिकता तथा संस्कारको कमी नेपाली काङ्ग्रेस पार्टीभित्र देखिएको छ,” उनले भने ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अफताब आलम, अजयकुमार चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायतका वक्ताले मुलुकमा बढ्दै गएको महँगी, हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारले नेपाली जनता मारमा परे पनि सरकारले केही नगरेको आरोप लगाए ।

सो अवसरमा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका पाँच जना व्यक्तिलाई महामन्त्री डा कोइरालाले दोसल्ला ओढाई सम्मान गरेका थिए । स्व गिरिजाप्रसाद कोइरालाको जीवनका महत्वपूर्ण घटनालाई दर्शाउने तस्बीरहरुलाई कार्यक्रममा प्रदर्शित गरिएको थियो ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्