अख्तियारले किन गर्याे सशस्त्र प्रहरी प्रमुखलाई निलम्बनकाे सिफारिस ?


 


kosh raj wontaकाठमाडाै, पुस २

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ । वन्तमाथि छानविन गर्दै अख्तियारले निलम्बिनका लागि सिफारिस गरेको अख्तियार स्रोतले बताएको छ ।

अख्तियार स्रोतका अनुसार आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा सामान खरिदमा अनियमितता, ढुवानीमा फर्जी बिल बनाएर भ्रष्टाचार गरेको देखिएपछि उनलाई निलम्बन गर्न सिफारिश गरिएको हो।  उनीविरुद्ध अख्तियारमा धेरै उजुरी परेका थिए । उनी २०६६ सालमा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए भने २०६९ मा महानिरीक्षक बनेका हुन् ।

यस्ताे छ अख्तियारकाे विज्ञप्ती

प्रेश विज्ञप्ती: २०७२।०९।०२ गते ।

————————————- सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त लगायतलाई निलम्बनको लागि लेखि पठाईएको सम्बन्धमा ।

———————————————————————— सशस्त्र प्रहरी बल हलचोकले आ.व. ०६९।०७० र ०७०।०७१ मा खरीद भएका सामान ढुवानी गरी अधिराज्यभर आफ्नो युनिटमा पठाउन टेण्डर आव्हान गरी सदाज्योती सप्लायर्स संग सम्झौता गरेकोमा सो सम्झौता बमोजिम ढुवानी नगरी नक्‍कली बिल बनाई करोडौभ्रष्टाचार गरेको भन्‍ने लगायतका आयोग समक्ष पर्न आएका उजुरी निवेदनहरु मध्ये ढुवानीमा व्यापक आर्थिक अनियमितता भएको भन्‍ने उजुरी उपर विस्तृत अनुसन्धान तहकिकातको क्रममा हाल सम्म संकलित सबुत प्रमाणहरुबाट निवेदनमा उल्लेखित जिकिर अनुरुप उल्लेखित आ.व.हरुमा खरिद गरिएका सामानहरु भन्दा अस्वभाविक बढि सामानहरु ढुवानी गरेको देखाई झुठ्ठा बिल तथा पत्रहरु तयारी गरी सम्झौता विपरित ढुवानीकर्ता संग मिलेमतो गरी ब्यापक आर्थिक अनियमितता गरेको पाइएकोले यसमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त समेतको प्रत्यक्ष संलग्नता रहे भएको देखिन आएकोले ततसम्बन्धमा अझै थप प्रमाण कागजातहरु संकलन गर्नुपर्ने भएको हुँदा आर्थिक अनियमितता तथा भ्रष्टाचारजण्य कार्यमा प्रतक्ष्य संलग्न रहेका देखीएका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त¸ सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा सशस्त्र प्रहरी निरीक्षक विन बहादुर थापा समेतका प्रहरी कर्मचारीहरु पदमा बहाल रहि रहँदा आफ्‍नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने र अनुसन्धान तहकिकातको कार्यमा समेत बाँधा व्यवधान पुर्‍याउन सक्ने मनासिव कारण देखिएकोले निज सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त¸ सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा सशस्त्र प्रहरी निरीक्षक विन बहादुर थापा समेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को खण्ड (३) बमोजिम आजैका मितिवाट निलम्बन गर्न सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको हकमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार तथा सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय र सशस्त्र प्रहरी निरीक्षकको हकमा गृह मन्त्रालय, सिंहदरवार र सशस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयंम्भु, काठमाण्डौलाई आयोगको मिति २०७२।०९।०२ को निर्णयअनुसार लेखी पठाइएको छ ।

प्रकाशित मिति: २ पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्