आज कमल थापा किन बालुवाटार पुगे


 


काठमाडौं ७ फागुन
–प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उठाएका माग पूरा गर्न आफ्ना गतिविधि जारी राख्न सुझाब दिएका छन् ।

मंगलवार बालुवाटारमा २२ बुँदे मागपत्र बोकेर अध्यक्ष कमल थापा नेतृत्वमा पुगेको राप्रपाको प्रतिनिधि मण्डललाई प्रधानमन्त्री ओलीले शुभकामना समेत दिए ।

राप्रपाले बुझाएको मागपत्रको पहिलो बुँदामा धर्म निरपेक्षता खारेजी र दोस्रो बुँदामा राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न सर्वपक्षीय गोलमेच सम्मेलन गर्न माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले यी मागहरु प्रति इंगित गर्दै भने, ‘तपाईँहरुका कतिपय मागहरु राजनीतिक माग छन् । यी मागलाई स्थापित गराउनका लागि आफ्ना गतिविधि गरिरहनुस् यहाँलाई शुभकामना छ ।’

उनले राप्रपाले उठाएका जनजीविकाका मुद्दामा सरकार सकरात्मक रहेको जवाफ दिएका थिए ।

‘उहाँले हाम्रा मागहरु प्रति सकरात्मक रहेको बताउनुभयो,’ राप्रपाका नेता मोहन श्रेष्ठले भने, ‘कतिपय मागहरु पूरा हुने क्रममा छन् । हामी त्यसमा अगाडि बढेका छौँ र पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।’

ओलीले राप्रपाको आवश्यकता देशलाई रहेको र भविष्य उज्वल रहेको भन्दै शुभकामनासमेत दिएको उनले बताए । ‘तपाईहरु प्रजातान्त्रिक पार्टी हो । राप्रपा देशको लागि आवश्यक छ । तपाईँहरुलाई शुभकामना छ तपाईँहरुको भविष्य उज्ज्वल छ ।’

राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न पनि राप्रपाले माग गरेको छ । ‘राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस्,’ राप्रपाको मागपत्रमा लेखिएको छ ।

जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न र धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थाहरुलाई बन्द गर्न समेत राप्रपाले माग गरेको छ ।

धर्मनिरपेक्षता खारेज गरी हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, संघीयतामा जनमत संग्रह गर्नुपर्ने, मेलम्ची र वाइडबडी जहाजमा भएको अनियमितता छानबिन गरी कार्वाही गर्नुपर्ने लगायतका विषय पनि राप्रपाले बुझाएको मागपत्रमा उल्लेख छन् ।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्