खानेपानीमन्त्री साइकल बितरण कार्यक्रममा पुगेपछि ….


 


पुनर्वास, ७ फागुन
मंगलबार ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष विशेष कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । प्रजातन्त्र दिवसका दिन मन्त्री बीना मगर कञ्चनपुर पुगेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पुनर्वास नगरपालिकाद्वारा नगरभित्रका स्वास्थ्य स्वयंसेविकाहरुका लागि साइकल वितरण कार्यक्रममा पुगेकी नेपाल सरकारका खानेपानी मन्त्री मगरले देशको परिवर्तनमा राणाशासनको अन्त्यदेखि विभिन्न सङ्घर्ष गर्दै अहिलेको स्थितिसम्म पुग्न नेपाली जनताको ठूलो त्याग रहेको बताएकी छन् । उनले स्वास्थ्य स्वयंसेविकाहरुले समाजमा पु¥याएको योगदानको सम्मान गर्नुपर्ने बताइन् । उनले घर–घरबाट महिला जागरुक हुनुपर्ने बताउँदै प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको सफल कार्यान्वयन र नागरिकको जीवनपद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने कामना गरिन् ।

कार्यक्रममा नगरभित्रका एक सय एक जना स्वास्थ्य स्वयंसेविकाहरुका लागि साइकल वितरण गरिएको छ । कार्यक्रममा खानेपानी मन्त्रालयका महानिर्देशक सुनिल दास, मन्त्रालयका उप–महानिर्देशक रमाकान्त दवाडी लगायतका टिमको उपस्थिति रहेको थियो ।
पुनर्वास नगरपालिकाका नगरप्रमूख जीवनराज थापाले मन्त्री मगर संघीय सरकारमा हुनु पुनर्वासका लागि गर्वको कुरा भएको बताए । नगरप्रमूख थापाले नगरभित्रका समस्याहरु सुनाउँदै समस्याको समाधानका लागि मन्त्रीसमक्ष आग्रह समेत गरे । खानेपानी योजनाका कामहरुको स्थलगत अवलोकन गर्न कञ्चनपुर पुगेकी नेपाल सरकारका खानेपानी मन्त्री मगर कार्यक्रममा उपस्थित भएकी थिइन् ।

एक सय चार वर्षीय जहाँनिया राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभूवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.सं. १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि नागरिकमा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्