तीन जना पत्रकार सम्मानित


 


विराटनगर,  फागुन ७

नेपालको एकमात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवको अवसरमा  ३ जना पत्रकार सम्मानित हुनुभएको छ ।

विराटनगरस्थित रासस प्रदेश कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा राससको मोरङ जिल्ला समाचारदाताको रुपमा कार्यरत सुमन घिमिरे, पाँचथरका रविन्द्र काफ्ले र ताप्लेजुङका सन्तोष सार्की सम्मानित हुनुभएको हो । घिमिरे उत्कृष्ट समाचारदाता, काफ्ले उत्कृष्ट आलेख र सार्की उत्कृष्ट फोटो बाट सम्मानित हुनुभएको हो ।

उहाँहरुलाई कार्यक्रममा प्रमुख अतिथी प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जनही नगद ५ हजार र सम्मान् पत्रले सम्मान् गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले रासस सदैव अगाडि रहनुपर्ने बताउनुभयो राससले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गरिरहेकाले यसको साख र भविष्य उज्ज्वल रहेको छ भन्नु भयो ।

उहाँले राससलाई समय सापेक्ष वनाउन प्र्रदेश स्तरका कार्यालयहरु प्रदेश सरकारका मातहतमा आएमा यस्को भौतिक संरचना र अन्य कार्यहरु गर्न सरकारले सहयोग गर्ने वताउनु भयो । उहाँले ६ दशक अगाडि राष्ट्रिय समाचार समिति जुन सोचले स्थापना भएको त्यो अहिले सार्थक भएको छ भन्दै यसलाई अझ व्यवसायिकता अपनाउनु पर्नेमा जोड दिनु भयो । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले रासस राष्ट्र र जनताका लागि समाचार सम्प्रेषण गरेर सहयोग गरिरहेको कुरामा जोड दिनु भयो ।

नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतम, नेपाल पत्रकार महासंघ मोरङ शाखाका उपाध्यक्ष इन्दिरा भट्टराई र महासघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले राससका समाचारप्रति अहिले पनि सञ्चारमाध्यमहरु निर्भर रहने गरेको चर्चा गर्नु भयो । सेवाग्राहीको तर्फवाट उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले सञ्चार माध्यमहरुको विकास र विस्तार नभएको समयमा राससले नै देश र जनतालाई सूसुचित गरेको स्मरण गराउनु भयो । कार्यक्रम रासस प्रदेश प्रमुख मोहम्मद सदरुलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्