शेरबहादुर देउवाको गृह जिल्लामा ओलीले भने “विकासको जिम्मा मलाई दिनुहोस”


 


काठमाडाैँ ७ फागुन,
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको जिम्मा आफूले लिने बताउनुभएको छ । डडेलधुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको स्याउले १२३/३३/११ केभीको सबस्टेसनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला निर्माण सुरु भएको यो केन्द्रले यस क्षेत्रमा विद्युत वितरण र व्यवस्थापन गर्ने बताउनुभएको छ । “अब डडेलधुराबासीले चिन्ता लिनु पर्दैन ,विकासको जिम्मा मेरो भयो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईहरुको आवश्यकता के के छन् माननीयहरु मार्फत पठाउनुहोस । पुरा गर्ने जिम्मा मेरो भयो ।”

प्रधानमन्त्री ओलीले पश्चिम सेती परियोजना जसरी निर्माण हुने बताउनुभएको छ । “म प्रधानमन्त्री हुँदाहुँदै पश्चिम सेती निर्माण हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले डडेलधुरा अब पछि परिरहनु उपयुक्त नहुने बताउनुभएको छ । “डडेलधुरा विकासमा पछि पर्नु लाजमर्दो कुरा हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब सिंगै सुदुरपश्चिम अगाडी बढ्छ । विकसित हुन्छ ।”

प्रधानमन्त्री ओलीले महाकाली नदीमा रहेका तुइन विस्थापन गर्न एकतर्फी रुपमा समस्या भएकोले भारतको उतराखण्डका मुख्यमन्त्री र प्रदेश प्रमुखसँगष् छलफल गरेको जानकारी दिनुभएको छ । “अब पनि तुइनमा झुण्डिएर,टायरमा चढेर नदी तर्ने कुरा हुदैन । तुइनलाई झोलुंगे पुल,पक्की पुल र केवलकारले बिस्थापन गरिनेछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले डडेलधुराको तुफानडाँडाँबाट पर्शुराम नगरपालिका हुँदै कन्चनपुर जाने सडक निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । (प्रधानमन्त्रीको सचिवालयले तयार पारेको समाचार)

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्