ओली सरकार ४ वर्ष टिक्छ भन्दा जनता तर्सिने दिन आयो


 


इलाम फागुन ७
नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको असक्षमताले संविधान र संघीयता संकटमा परेको बताएका छन् ।

नेपाली काग्रेस इलामले मंगलबार गरेको अन्तरक्रियामा बोल्दै थापाले महेन्द्रको असक्षमताले २००७ सालको उपलव्धी र माओवादीका कारण २०४६ को उपलव्धी गुमेको जिकिर गरे । यसपटक नेकपाका कारण उपलब्धी संकटोन्मुख भएको थापाले बताए ।

नेता थापाले सरकारले एकपछि अर्को गल्ती गर्दै गएको आरोप लगाए । ‘यो सरकार चार वर्ष टिक्छ भन्दा जनता तर्सिने अवस्था आएको छ’, उनले भने । सरकारले सामान्य र सहज कामसमेत नगरेको थापाले आरोप लगाए । सबै सहज अवस्था हुँदा पनि सरकारले काम नगरेर व्यवस्था असफल बनाउने बाटोमा हिँडेको उनले बताए ।

सरकारले संसददेखि गायकसम्मलाई गरेको व्यवहारले उसको अनुहार प्रष्ट भएको भन्दै थापाले व्यवस्था र संविधान रक्षा काग्रेसको एजेण्डा भएको बताए । ‘काग्रेससँग एजेण्डा छैन भन्ने कुरा गलत हो’, थापाले भने, ‘कांगे्रसको अहिलेको एजेन्डा संविधान र व्यवस्थाको रक्षा हो ।’

उनले यही ९ गते बस्ने केन्द्रीय समितिको बेठकपछि दुई महिना भन्दा लामो गाउँ अभियानको घोषणा गरिनेसमेत जानकारी दिए ।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्