सरकारकाे निर्णय भारतद्वारा स्वागत, नाका खाेल्ने संकेत


 


काठमाडाैं, पुस ६

भारत सरकारले अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दी खोल्ने संकेत दिएको छ । साेमबार परराष्ट्र मन्त्रालयबाट चार बुँदे विज्ञप्ती जारी गर्दै यस्तो संकेत दिएको हो । संविधान संशोधनको प्रक्रिया अघि बढाउने नेपाल सरकारको निर्णयलाई भारतले स्वागत गरेको जनाएको छ ।

भारतीय सरकारलाई नेपालको परराष्ट्र मन्त्रालयले पठाएको सूचना प्राप्त भएको र संविधान संशोधनको कदमलाई स्वागत गरेको विज्ञप्तीमा उल्लेख छ । संशोधन प्रक्रियामा दलहरुले समाधान निकाल्नेगरी परिकक्क कदम चाल्न समेत आग्रह गरिएको छ ।

विज्ञप्तीमा नाका खोल्ने संकेत गर्दै लेखिएको छ, ‘दुई देशबीचको व्यापार अवरोधहिन हुने आवश्यक बातावरण मिल्ने आशा गरिएको छ ।’

आइतबार मन्त्रिपरिषद बैठकले पास गरेका प्रस्ताव यस्ता थिए:

१. राज्यका निकायहरुमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि संविधानमा संशोधनका निमित्त संसदमा पेश भएको विधेयक पारित गर्न प्रक्रिया अघि बढाइने छ।

२. प्रदेश सीमांकन सम्बन्धमा आन्दोलनरत दलहरुले उठाएको मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमतिअनुसार संविधानमा उपयुक्त व्यवस्था गरिनेछ । यस्तो राजनीतिक सहमतिका लागि एक राजनीतिक संयन्त्र गठन गरिनेछ। उक्त संयन्त्रले तीन महिनाभित्र सुझावसहितको प्रतिवदेन दिनेछ।

३. यसबाहेक नागरिकता लगायतका अन्य मागहरुलाई समेत वार्ता र सहमतिका आधारमा उचित समाधान खोज्न सकिनेछ ।

प्रकाशित मिति: ६ पुस २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्