अब चीन र नेपालबीच तेल र ग्यासको व्यापार हुने


 


काठमाडाैं, पुस १०

बेइजिङमा भएको नेपाल र चीनका विदेशमन्त्री स्तरीय वार्तामा आठ बुँदे सहमति भएको छ। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेतृत्व गरेको टोली र चीनका विदेश मन्त्री वाङ यीले नेतृत्व गरेको टोलीबीच बेइजिङस्थित विदेश मन्त्रालयमा भएको वार्तामा भएको आठ बुँदे सहमती संयुक्त विज्ञप्तीको रुपमा जारी गरिएको छ।

सहमतीको चौथो बुँदामा चीन र नेपालबीच दीर्घकालीन रुपमा तेल र ग्यासको व्यापार गर्ने उल्लेख छ। इन्धन संकट समाधान गर्न नेपाललाई मध्यकालीन र दीर्घकालीन रुपमा आपूर्ति व्यवस्था मिलाउन चीन सहमत भएको संयुक्त विज्ञप्तीमा जनाइएको छ।

विगत ६० वर्षमा नेपाल–चीन सम्बन्ध घनिष्ठ रुपमा अगाडि बढेको ठहर गर्दै अर्को वर्ष प्रधानमन्त्री तहको उच्च भ्रमण आदानप्रदान गर्ने सहमती भएको छ।  चीन–नेपाल सीमा व्यापार विस्तार गर्न सुक्खा बन्दरगाहहरू तथा सीमा नाकाहरू व्यवस्थित गर्ने सहमतिको अर्को बुँदामा छ। त्यस्तै दुई देशबीच पारबहन तथा बिप्पा सन्धि गर्नका लागि सक्रियता साथ अध्ययन गर्ने सहमति पनि भएको छ।

चिनियाँ पर्यटकलाई भिसा नलाग्ने बनाइने

भूकम्पपछि नेपाल भ्रमण गर्दा सुरक्षा सतर्कता अपनाउन चीनले जारी गरेको सूचना आजैदेखि हटाइएको र यसले नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने वार्तामा जानकारी गराइएको थियो। परराष्ट्रमन्त्री थापाले नेपालमा चिनियाँ पर्यटकलाई भिसा–मुक्त भ्रमण व्यवस्था गरिने जानकारी गराए।

चीनको यो निर्णयसँगै नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्ने छ। द्विपक्षीय वार्तामा चीनका विदेशमन्त्री वाङ यीले आन्तरिक राजनीतिक संक्रमण सफलता साथ पार गरेर नेपाल ऐतिहासिक रुपमा आर्थिक विकासको युगमा प्रवेश गरेको र त्यसमा सहयोग गर्न चीन निकै उत्सुक रहेको बताएका थिए ।

द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा चीनका विदेश मन्त्री वाङ यीले चीन, नेपाल र भारतले त्रिदेशीय आर्थिक करिडोर निर्माण गरी संयुक्त फाइदा लिनु पर्ने बताए । तीन देशबीच सहकार्य भए प्रतिस्पर्धा भन्दा आपसी फाइदा बढी हुने वाङको तर्क थियो ।

प्रकाशित मिति: १० पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्