भारतमा अभिनन्दन स्टाइलको जुँगा बनाउने होड


 


२०७५ फाल्गुण २० /

पाकिस्तानी सेनाले नियन्त्रणपछि शुक्रबार रिहा गरेका भारतका वायुसेनाका पाइलट अभिनन्दन वर्तमानको चर्चा अहिले भारतभर चलिरहेको छ । पाकिस्तानी सेनाले अभिनन्दनलाई बिहीबार भारतीय पक्षलाई हस्तान्तरण गरेपछि उनको भव्य स्वागत भएको थियो । आम भारतीयले उनलाई अहिले सच्चा हिरो बताउन थालेका छन् । उनका हरेका अभिव्यक्ति भारतीय सञ्चारमाध्यमको मुख्य विषय बन्ने गरेको छ । यसबाहेक केही भारतीयले उनका आकर्षक जुँगाको नक्कल गर्दै सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् । कतिपय राज्यका युवामा अभिनन्दन स्टाइलको जुँगा बनाउने होड नै चलेको छ ।

‘अभिनन्दन हाम्रा वास्तविक हिरो हुन् । त्यसैले पछिल्लो समय हामी उनको जुँगाको नक्कल गरेका छौँ,’ बेंगलुरुका सैलुन व्यवसायी चन्द मोहम्मद भन्छन् । यसअघि उनको सैलुनमा बलिउड नायक सलमान खान, शाहरूख खानलगायतको जस्तो जुँगा बनाउन युवा आउने गरेको उनी बताउँछन् । ‘यो अभिनन्दन सरको जुँगाकाे स्टाइल हो । हामीले उनको सिको गरेका छौँ । मलाई उनको स्टाइल औधि मनपर्छ । उनी मेरा सच्चा हिरो हुन्,’ स्थानीय व्यापारी समीर खान भन्छन् । यसैबीच, अभिनन्दन आफू युद्धक विमानको ककपिटमा जान आतुर रहेको दी टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा जनाइएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्