सुशील भन्छन् कांग्रेसमा म नै युवा नेता हुँ !


 


पर्वत, पुस १९

कांग्रेस सभापति सुशील कोइरालाले पार्टीको १३ औ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने संकेत गरेका छन्। दुई-दुई वटा क्यान्सर र निमोनियालाई जितेर आएको उद्घोष गर्दै घुमाउरोगरि कोइरालाले सभापतिमा आफ्नो विकल्प नरहेको बताए।

‘मलाई छातीको अप्रेसन गरेर घरमा सुतेको छ भनेर गलत प्रचार गरिएको छ, तर म पार्टीको काममा युवा जत्तिकै सक्रिय छु’ पर्वत कांग्रेसद्वारा यहाँ आयोजित कार्यकर्ता भेलामा भने–’दुई-दुई वटा क्यान्सर त खाइँसके, पार्टी अगाडी बढाउन म अझै सक्षम छु।’

पटक–पटक आफ्नो स्वास्थ्यमाथि चर्चा गरेका कोइरालाले मुलुक र पार्टीका लागि आफ्नो नेतृत्व आवश्यक रहेकोमा जोड दिए। ‘मलाई रोगसँग चिन्ता छैन, संविधान पूर्ण कार्यान्वयन भएर निर्वाचनमा कांग्रेस पुनः पहिलो पार्टी नहुँदासम्म म स्वस्थ नै हुन्छु’ कोइरालाले कार्यकर्तामाँझ भने। उनले पार्टीको आगामी महाधिवेशनमा विवेक पुर्याउन कार्यकर्तालाई आग्रह गरे।

पार्टीको निर्वाचनमा पैसाको खेलमा नलाग्न सचेत गराउँदै कोइरालाले भने–’महाधिवेशनमा पैसाको खेल भयो भने पार्टी बाँच्दैन। सच्चा मनले विवेक पुर्याउनुस्।’

प्रकाशित मिति: १९ पुस २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्