सरकार र सिके राउतबीचको सहमतिप्रति नेकपाभित्र चर्को विवाद


 


काठमाडौं । सरकार र स्वतन्त्र मधेस गठबन्धनको सहमतिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद उत्पन्न गरेको छ ।
नेकपाका केही नेताले सहमतिले विखण्डनलाई मान्यता दिएको भन्दै आक्रोश पोखेका छन् भने केहीले गठबन्धनलाई मूलधारको राजनीतिमा ल्याएको दाबी गरेका छन् ।

सरकारसँगको ११ बुँदे सहमतिपछि स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउत जनकपुर पुगे । उनको स्वागतमा आएका कार्यकर्ताले ‘फ्रि मधेस’को नारासम्म लगाए । यसले मुलुकको भविष्यमा डर लाग्दो अवस्था आउनेसम्मको तर्कहरु सुरु भएका छन् ।

सत्तारुढ नेकपाका केही नेताले सहमतिका ‘द्विअर्थि’ शव्दको कडा आलोचना गरे । खरो आलोचनामा उत्रिने मध्ये एक हुन् भीम रावल । रावलले राउतको शैली र व्यवहारमा परिवर्तन नआउनु डरलाग्दो अवस्थाको संकेत गरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा भएकोे सहमतिमा रावल मात्र होइन, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ पनि असहमत छन् । सरकारले गर्ने निर्णय पार्टीमा छलफल नै नहुने गरेका कारण समस्या उत्पन्न हुने गरेको असन्तुष्ट नेताहरुको तर्क छ ।

बुँदा नम्बर २ मा उल्लेख भएको जनअभिमतलाई टेकेर गठबन्धनले तराई–मधेसमा जनमतसंग्रह गर्ने सहमति भएको व्याख्या गर्दै आएको छ । तर, सरकारले संविधानकै भावना अनुरुप भएकाले जनमत संग्रहको प्रसंगै नरहेको दाबी गर्दै आएको छ । नेकपाकै अर्को खेमाका नेता सीके समुह सहमति कार्यन्वयनमा प्रतिवद्ध रहने विश्वास गर्छन् । यसमा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विरोध गर्ने आफ्नै नेताहरुप्रति आक्रमक देखिन्छन् ।

सरकारले गठन गरेको राजनीतिक वार्ता समितिले नै सीके राउत समुहलाई गैर राजनीतिक समुहको रुपमा व्याख्या गरेको थियो । प्रधानमन्त्री ओलीले राउतलाई वैधानिक राजनीतिमा सामेल गराउने सफलता हात पारेपनि नेकपामा देखिएको विवादले उग्ररुप लिने देखिएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्