सभापति देउवासहित काँग्रेस नेताहरुद्धारा सृजना पार्कको अवलोकन



विवेक मिश्र

बेलवारी, फागुन  २९

मोरङको बेलवारी नगरपालिका – १० स्थित शृजना सामुदायिक वन क्षेत्रमा निर्माण भईरहेको सृजना पार्कको आज दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले अवलोकन गर्नुभएको छ ।

सो पार्कमा ढुंगाबाट निर्माण गरिएको बिभिन्न आकृतिको पूर्व प्रधानमन्त्री एवम् सभापति देउवासहित उपसभापति विजयकुमार गच्छदार, नेताहरु डा.प्रकाशशरण महत, विमलेन्द्र निधि, पुर्णबहादुर खड्का, रामहरी खतिवडा लगायतले अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा ढुंगामा विभिन्न आकृतिले सजिएको सृजना पार्क पूर्वी नेपालकै एउटा पर्यटकिय गन्तव्य बन्न सक्ने सभापति देउवाले बताउनुभएको थियो ।

उहाँले नेपाल पर्यटन क्षेत्रको सम्भावना बोकेको देश भएकाले पनि यस्ताखाले पर्यटन क्षेत्रको विकाश गरी देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको थियो । त्यहाँ गत फागुन ४ गतेदेखी २१ गतेसम्म चलेको अन्र्तराष्ट्रिय मुर्तिकला कार्यशालामा नेपालसहित छ देशका मुर्तिकारले ढुंगामा आफ्नो कला प्रस्तुत गरेका थिए ।

उक्त कार्यशाला सञ्चालन अवधिभरमा पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्रीहरु लगायतले अवलोकन गर्नुभएको थियो । सो वन क्षेत्रको ३३ विगाहा क्षेत्रमा पार्क निर्माण सुरु गरिएको हो । त्यहाँ नेपालसहित भारत, जापान, जर्मनी, बंगालादेश र इटाली देशका ४२ जना मूर्तिकारले ५० वटा ढुंगाको मूर्ति निर्माण गरेका छन् । वनले करिब रु १ करोड ८४ लाखको लागतमा पर्यटकलाई आकर्षित गर्ने हेतुले पार्क निर्माण अभियान सुरु गरेको हो ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्