विप्लव नेकपाको नेपाल बन्दको प्रभावः ठाउँठाउँमा बम, बस र ट्रकमा आगजनी


 


काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव देशैभर सामान्य रूपमा परेको छ । बन्द सफल बनाउने नाममा नेकपाका कार्यकर्ताले ठाउँठाउँमा बम राख्ने र सार्वजनिक सवारीसधानमा अागजनी गर्ने काम गरेका छन ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा राती पौने ४ बजे बसमा आगजनी भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा पौने ४ बजे आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

यस्तै पश्चिम नवलपरासीमा विप्लव समूहले दुई वटा ट्रकमा आगजनीको प्रयास गरेको छ । नवलपरासीको सरावल गाँउपालिका वार्ड नं. १ बासा स्थित राजमार्ग छेउमा पार्किङ गरी राखिएको खाली ट्रकमा आगजनीको प्रयास भएको छ । राती साढे १ बजे ना ५ ख ७७४१ र ना ४ ख ६८२५ नम्बरका खाली ट्रकहरुमा आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । विप्लव समूहको बन्दले गर्दा काडमाडौं देखि धनगढीको लागि छुटेको खालि ट्रक बासा भन्ने स्थानमामा रोकेर राखिएको थियो ।

गाडी चालकहरुले बन्द खुलेपछि हिड्ने भनेर राती बासामै ट्रक रोकेर बास बासेका थिए । विप्लव समूहले आगजनी गर्न खोज्दा ट्रकहरुको टायरमात्रै जलेको छ । मानविय क्षति नभएको प्रहरीको भनाइ छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशभरको जनजीवन सामान्य प्रभावित बनेको छ । ठाउँ–ठाउँमा राखिएका शंकास्पद वस्तुले जनतामा त्रास पैदा भएको छ ।

त्यस्तै रौतहटको चन्द्रपुर र व्रिन्दावन नगरपालिकाको सीमा क्षेत्रमा पर्ने हर्षाह चोकमा शंकास्पद वस्तु भेटिएको छ । बम रहेको आशंका गरिएपनि प्रेसर कुकरभित्र कागजका टुक्राहरु राखिएको भेटिएको छ । यसैबीच, बुटवलको कालिकाचौकमा आज बिहानशंकास्पद वस्तु भेटिएको छ । रुपन्देही स्थित सिद्धार्थ राजमार्गको बुटवल बेलहिया खण्डको कालिकाचौकको ट्राफिक ब्रेकरमाथि शंकास्पद वस्तु भेटिएको हो । त्यसैगरी, मकवानपुरको हेटौँडा औद्यागिक क्षेत्रको गेटमा पनि शंकास्पद बस्तु फेला परेको र सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर डिस्पोज प्रक्रिया शुरु गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्