इलाममा आगलागी, एक करोड चालिस लाख बराबरको क्षति
नरेन इलामेली इलाम – इलाममा बिहीबार आगलागी हँदा एक करोड चालिस लाख बराबरको क्षति भएको छ । बिहीबार दिउँसो करिब साढे १ बजेतिर जिल्लाको सन्दकपूर गाउँपालिका १ माईपोखरीका चन्द्र बहादुर मुखियाको भान्छा घरबाट सुरु भएको आगलागीमा परी चारवटा घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट चन्द्रबहादुर मुखियाको सहित कमल मुखिया, निम दोर्जे शेर्पा र लाक्पा शेर्पाको घर पूर्ण रुपले जलेर नष्ट हुनाका साथै घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र काठपात समृत जलेर नष्ट हुँदा करिब एक करोड ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवलदार विजय राईले जानकारी दिए ।
आगलागी स्थानियवासी , प्रहरी तथा दमकलको साहयतामा दुई घण्टा पछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार












