अमेरिकामा प्रचण्ड भूमिगत भएको खुलासा !



काठमाडौ १४ चैत– नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नि सीताको उपचारका लागि १० दिनअघि अमेरिका प्रस्थान गरे ।

प्रचण्डले अमेरिकी भूमिमा पाइदा नटेक्दै १० वर्षे सशस्त्र माओवादी जनयुद्धका क्रममा मानवअधिकार उल्लंघनका घटनामा संलग्न रहेको आरोपमा कारबाही माग गर्दै मेरिल्याण्डस्थित एक निकायमा मुद्दा दर्ता गरियो । मुद्दा दर्ता गर्नेमा पूर्वनेपाली तिलक श्रेष्ठ नामका व्यक्ति थिए । उजुरी परेपछि प्रचण्ड पक्राउ पर्न सक्ने चर्चा पनि केहीले चलाए । उनका शुभचिन्तक आत्तिए भने विरोधीहरुले होमा हो मिलाउँदै पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा आफ्ना भनाइ सार्वजनिक गरे । तर, उनलाई पक्राउ गर्ने अमेरिकी सरकारको सोचै थिएन । बरु, उनलाई आशंका नहोस् भन्नका लागि पहिल्यै ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी भइसकेको थियो । त्यो भनेको भ्रमणमा आएका व्यक्तिमाथि कुनै प्रकारको अनुसन्धान नगर्ने भन्ने व्यवस्था हो । जुन विषयमा प्रचण्डसहित उनको सचिवालय, प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्रालय लगायतलाई मात्र जानकारी थियो । त्यसैले प्रचण्ड कतिपय शुभचिन्तकले नजान भन्दाभन्दै ढुक्कले अमेरिका उठेका थिए ।
नेपाल फर्केपछि त्यसबारे प्रचण्डले यसो भने
बिहीबार स्वदेश फर्कने क्रममा भित्रुवन विमानस्थलमा सञ्चारकर्मीसँग उनले पक्राउ नहुने सुनिश्चित भएपछि मात्र आफू अमेरिका गएको प्रष्ट्याए । ‘हुनेवाला केही पनि थिएन’, उनले भने, ‘अमेरिकाले मेरोबारे पहिले नै ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरिसकेको थियो ।’ यद्यपि न्यूयोर्कस्थित नेपाली नियोगका अधिकारीहरु प्रचण्डलाई केही पो हुने हो कि भन्ने चिन्तामा रहेको उनले जनाए । प्रचण्डले आफू अकाशमै रहेका बेला मेरिल्याण्डमा उजुरी परेको तर, आफूलाई त्यसबारे कसैले जानकारी नगराएको उल्लेख गरे ।

न्यूयोर्कस्थित नेपाली राजदूत अर्जुन कार्कीसहित त्यहाँ रहेका नेपालीहरु केही हुने हो कि भनेर चिन्ता लिएको र सावधानी अपनाएको आफूले पछि चाल पाएको जनाए ।

त्यसैले आफूलाई विमानस्थलबाट बाहिर लैजाँदा भूमिगत रुपमै गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाइएको पछि मात्र थाहा पाएको बताए । ‘म आकाशमै भएका बेला उजुरी परेको रहेछ । तर, मलाई जानकारी दिइएन ।

एयरपोर्टमा पुग्ने बित्तिकै मलाई भूमिगत रुपमै गन्तव्यसम्म पुर्याउने व्यवस्था गरिएको रहेछ । मैले पछि थाहा पाएँ’, उनले भने । प्रचण्डले भ्रमणका क्रममा आफूले अमेरिकी सरकारका विशिष्ट अधिकारीसँग भेटेर नेपालको माओवादी जनयुद्धबारे फैलाइएका भ्रमबारे प्रष्ट्याएको बताए ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्