सन्दिप लामिछानेले एक विकेट लिएको खेलमा दिल्लीको कोलकाताविरुद्ध सनसनीपूर्ण जित


 


एजेन्सी । आईपीएलको १२औँ संस्करणमा दक्षिण अफ्रिकी युवा बलर कागिसो राबाडाले शानदार बलिङ गरेपछि घरेलु समर्थकलाई खुशी तुल्याउँदै दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

निर्धारित २० ओभरमा दुवै टिमले समान १ सय ८५ रनको स्कोर बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले एक विकेट गुमाएर १० रन बनाएको थियो । ११ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले ७ रनमात्र बनाउन सक्यो ।

राबाडाको पहिलो बलमै चौका प्रहार गरेका आन्द्रे रसेलले त्यसपछिको बलमा रन बनाउन सकेनन् र तेस्रो बलमा क्लिन बोल्ड भए । बाँकी तीन बलमा राबाडाले ३ रनमात्र दिए ।

दिल्लीको फिरोज शाह कोट्ला मैदानमा १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले ६ विकेटको क्षतिमा १ सय ८५ रनमात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको हो ।

दिल्लीका १९ वर्षीय ब्याट्सम्यान पृथ्वी शले आईपीएलमा पहिलो शतक बनाउन एक रनले चुके । उनले ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गरी ९९ रनमा आउट भए । शतक बनाउने उत्कृष्ट अवसरमा खराब शट खेल्न पुग्दा उनी आउट भए ।

दिल्लीका लागि कप्तान श्रेयश अय्यरले पनि ३२ बलमा ४३ रन बनाए । शिखर धवनले १६ र ऋषभ पन्तले ११ रन बनाए । अन्तिम ओभरमा दिल्लीलाई ६ बलमा ६ रन आवश्यक थियो । हनुमा बिहारी र कोलिन इन्ग्रामलाई कोलकाताका कुलदीप यादवले रोक्न सफल भए । पाँचौँ बलमा कुलदीप आउट हुँदा दिल्लीलाई जितका लागि २ रन आवश्यक थियो । तर, इन्ग्रामले एक रनमात्र लिन सके र खेल बराबरी बराबरी भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । सुरुवाति ५ विकेट सस्तैमा गुमाए पनि दिनेश कार्तिक र आन्द्रे रसेलले छैटौं विकेटका लागि ९५ रनको साझेदारी गरेपछि कोलकाताले सम्मानित योगफल बनाएको हो ।

रसेलले २८ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ६२ रन बनाउँदा ३६ बल खेलेका दिनेश कार्तिकले ५ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय पारी खेले । क्रिश लिनले २० रन बनाए । अन्यले अपेक्षाकृत रन बटुल्न सकेनन् ।

बलिङतर्फ दिल्लीका हर्षल पटेलले २ विकेट लिँदा सन्दीप लामिछाने, क्रिस मोरिस, अमित मिश्रा र कागिसो राबाडाले एक–एक विकेट लिए ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्