वाह ! श्रममन्त्री गोकर्ण बिष्ट, गुनासो सुन्न र सम्बोधन गर्न आजबाट छुट्टै कल सेन्टर
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको गुनासो सुन्न र सम्बोधन गर्न छुट्टै कल सेन्टरको स्थापना भएको छ । श्रम मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै नीतिगत सुधारको काम अघि बढाउनु भएका मन्त्री गोकर्ण विष्टले आज कल सेन्टरको उद्घाटन गरेपछि बिधिवत रुपमा गुनासो सुन्ने र सम्बोधन गर्ने काम अघि बढनेछ ।
देश, विदेशबाट सेवाग्राहीको गुनासोरजिज्ञासा सहज रुपमा प्राप्त गर्न र तत्काल सम्बोधन गर्नका लागि मन्त्रालयमै कल सेन्टर स्थापना गरिएको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिनुभयो ।
खनालले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा, वैदेशिक रोजगार बोर्ड लगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा एवं कार्यक्रमहरूबारे जानकारी लिन, सुझाव दिन वा गुनासो व्यक्त गर्न सकिने जानकारी दिनुभयो । सिधै फोन वा इमेल, भाइवर, इमो, मेसेन्जर जस्ता सामाजिक सञ्जालमार्फत् सिधै सम्पर्क गर्ने सकिने गरी मन्त्रालयमा कल सेन्टरको व्यवस्था गरिएको छ ।
मन्त्रालय सञ्चालन गरेको कल सेन्टरमा ११४१ नम्बरमा डायल गरी जानकारी लिन वा गुनासो गर्न सकिनेछ । मन्त्रालयले हालका लागि एनटीसी प्रयोगकताहरूका लागि ११४१ नम्बरमा डायल गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ भने एनसेल प्रयोगकर्ताहरूलाइ समेत निशुल्क हुने गरी व्यवस्था गरिदैछ ।
प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार










