उर्लाबारी – १ बासी भन्छन् : “यहाँबाट क्रसर हटाउ की हामीलाई हटाउ”


 


उर्लाबारी, चैत १८

मोरङको उर्लाबारी–१ मा मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर र सञ्चालनको तयारीमा रहेका क्रसर हटाउन स्थानीयले आन्दोलित बनेका छन् । गत शुक्रबारदेखि सुरु भएको आन्दोलन जारी रहेको छ ।

स्थानीयहरुले उर्लाबारी–१ मा त्रिपाल टाँगेर रिले अनसन गरिरहेका छन् भने टिपर सञ्चालनमा अवरोध गरिरहेका छन् । मानव वस्तीसँगै धमाधम क्रसर उद्योग सञ्चालन हुन थालेपछि स्थानीय आजित भएर आन्दोलनमा उत्रेका हुन् । उनीहरुले मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई पटक पटक गुहार मागेपनि कुनै चासो नदिएको भन्दै आक्रोश पोखे । स्थानीयबासीहरु स्थानीय सरकार र प्रदेश सरकारले आफ्नो मागलाई सम्बोधन नगरेको भन्दै आक्रोशित छन् । स्थानीय जगन्नाथ दाहालले भने –‘हामी मर्न तयार छौं, तर, क्रसर उद्योग चल्न दिँदैनौं ।’

क्रसर आंतकले आजित बनेका उनीमात्र होइन स्थानीय सबैको माग छ, ‘यहाँबाट क्रसर हटाउ की हामीलाई हटाउ ।’ क्रसर उद्योगका कारण पानीको मुहान सुक्ने, वातावरणमा प्रतिकुल असर पुग्ने, बर्षाको समयमा बस्ती डुब्ने खतरा, धुलोधुवालगायतका कारण आजित बनेको स्थानीय चन्द्रबहादुर दाहाल बताउँछन् ।

क्रसरका कारण उर्लाबारी–१ का तिनखोप्रे, चार घरे, खयरबारी बस्तीका स्थानीयबासी र स्थानीय विद्यालयका विद्यार्थीहरुसमेत प्रभावित भएका छन् । ढुवानीका लागि कुद्ने ट्रिपर आंतकले पनि स्थानीय पीडित बनेका छन् । बस्ती छेउमा बनेका क्रसरका कारण खयरबारी, बिहीबारे, चपुरलगायतका बस्तीलाई असर गरेको छ । यस्तै, स्थानीयले क्रसर हटाउन माग गर्दै आन्दोलन थालेपछि धाकधम्की दिने काम सुरु भएको भन्दै स्थानीयले शान्ति सुरक्षाको माग गरेका छन् ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्