प्रधानमन्त्री ओलीले भने : फर्सी जत्रो सुन्तला बनाउनाले स्वाद हरायो


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले ठुलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन् । ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सहकारीले ठुला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिए । “हाम्रो अहिलेको समस्या भनेको खेतीको खण्डिकरण हो । यसलाई रोक्नु पर्दछ र चक्ला खेती सुरु गर्नु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “भूगोल अनुसार जे बाली उत्पादन हुन्छ । त्यो ठुलो मात्रामा उत्पादन गर्नुपर्दछ । जसले गर्दा बजारीकरणमा समस्या हुदैन ।”

किसानहरुले कहिले सब्जी सडकमा फालेको,कहिले दुध पोख्नु परेको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले सानो मात्राको उत्पादनले यस्तो समस्या आएको बताए । “एक डोको कोपी किन्न कोही आउदैनन् ,एक ड्रम दुध किन्न पनि ग्राहक भेटिदैन ” प्रधानमन्त्री ओलीले भने “गाउँभरी एकै प्रकारको सब्जी उब्जाउने हो र धेरै टन दुध उत्पादन गर्ने हो भने ग्राहक खेतखेतै र गोठगोठै पुग्छन् । किसानले उचित मूल्य पनि पाउछन् ।” प्रधानमन्त्री ओलीले बिषादीका कारण नेपालीको स्वास्थ्य बिग्रदै गएको बताए । “खाने प्लेट सफा,चमेज सफा,भाडा सफा तर चामल, सब्जी चाँही बिषादी मिसिएको छ भने त्यसले स्वास्थ्यलाई फाइदा पुग्दैन ” प्रधानमन्त्री ओलीले भने ।

फलफूलका बोट विरुवामा नयाँ नयाँ प्रयोग गर्ने नाममा त्यसको मौलिक गुण स्वाद र आकार नै विलय हुन थालेको प्रधानमन्त्री ओलीको भनाइ छ । “फर्सी जत्रो सुन्तला बनाएपछि त्यसमा सुन्तलाको स्वाद कहाँबाट आउछ” प्रधानमन्त्री ओलीले भने “लौकामा त्यस्तै । कल्चर गर्ने नाममा खानेकुरालाई नै पागल बनाइएको छ । यिनीहरुको मौलिक गुणलाई कायम राखे मात्र त्यसबाट प्राप्त हुने पोष्क तत्वहरु पाउन सकिन्छ ।”

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्