मोबाइलबाटै सडक बत्ती कन्ट्रोल


 


काठमाडौं । राजधानीका सडकमा रहेका ट्राफिक लाइट अब मोबाइलबाटै नियन्त्रणमा हुने भएका छन् । नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले मोबाइलबाटै ट्राफिक लाइटको कन्ट्रोल गर्ने कार्यको शुभारम्भ गरेको हो । महानगरभित्र ट्राफिक व्यवस्थापनलाई सहजीकरण गर्नका लागि सो प्रविधि प्रयोगमा ल्याइएको महानगरले जनाएको छ ।

मंगलबार ललितपुरको जावलाखेलबाट यो प्रविधिको सुरुआत भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्राफिक प्रहरीलाई मोबाइल सेट प्रदान गरेर यो कार्यको शुभारम्भ गरेका हुन् । सवारी चापअनुसार ट्राफिक व्यवस्थापनका लागि मोबाइलबाटै सडक बत्तीको कन्ट्रोल गर्न सकिनेछ ।

यसका लागि ट्राफिकलाई प्रदान गरिएको उक्त सेटमा सडक बत्ती कन्ट्रोल गर्ने मोबाइल एप्स राखिएको छ । एप्स जडित मोबाइलबाट मेयर महर्जनले अल्का अस्पताल अगाडि सडकमा केही मिनेट सडक बत्तीको कन्ट्रोल गर्ने प्रविधिको प्रयोग गरेरसमेत गर्दै अवलोकन गरेका थिए । त्यसलगतै महर्जनले त्यहाँ रहेका ट्राफिक कुन्दनकुमार शाहलाई उक्त सेट हस्तान्तरण गरेका थिए ।

सडकमा हुने सावारी साधनको चापअनुसार ट्राफिक प्रहरीले सडक बत्तीको कन्ट्रोल मोबाइलबाटै गर्न सक्नेछन् । सवारीको चाप हेरेर ट्राफिक प्रहरीले अटोमेटिक र म्यनुअल दुवै तरिकाबाट सडक बत्तीहरूको कन्ट्रोल गर्न सक्नेछन् । सडकका ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग यो एप्स जडित मोबाइल रहनेछ ।

ललितपुर महानगरपालिकाले पावरटेक नेपाल र भुस्पर्श कन्ट्रक्सन प्रालिसँगको समन्वयमा यो प्रविधिको भित्र्याएको हो । अल्का अस्पताल चोकमा सुरु भएको यो प्रविधि अहिले परीक्षण मात्रै भएको मेयर महर्जनले बताएका छन् ।

यसअघि ललितपुर महानगरपालिकाले ६ जना ट्राफिक प्रहरीलाई सो प्रविधिसम्बन्धी तालिमसमेत प्रदान गरिसकेको थियो । यो प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनमा धेरै सहजता ल्याउने मेयर महर्जनले बताएका छन् । महर्जनले भने, ‘यो अहिले परीक्षणका लागि मात्रै हो । यसको सफलता हेरेर ललितपुर महानगरका अन्य १८–२० स्थानहरूमा समेत व्यवस्थापन गर्ने छौँ ।’ महानगरलाई स्मार्ट सिटी बनाउने प्रयासमध्ये यो एउटा सानो प्रयास भएको उनको भनाइ थियो । उनले भने ‘स्मार्ट सिटीको विभिन्न कम्पोनेन्ट मध्येको यो प्रविधि पनि एउटा हो ।’

अल्का अस्पताल अगाडीको चोकमा अहिले यो प्रविधि सुचारू छ । उग्रचण्डी मन्दिरपट्टिबाट आउने सडकमा ट्राफिकको सेन्सर समेत बिछ्याइएको छ । त्यो सेन्टरमा गाडीको चक्का पर्नासाथ बत्ती बल्छ । सोहीअनुसार ट्राफिकले मोबाइलबाटै व्यवस्थापन गर्नेछन् ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्