प्रदेश १ को नामको बिषयमा सहमति भएको खुलासा !


 


सुनसरी। प्रदेश नं. १ मा नेकपाको दुई तिहाई बहुमतको सरकार रहेको छ । प्रदेशको नाम के राख्ने भनेर सरकारले ठोस कदम चाल्न सकेको छैन् । पहिचानको आधारमा नाम हुनु पर्ने माग गर्दै किरात राई यायोख्खा, संघीय लिम्बुवान परिषदलगायतका जातीय संस्था र समुहहरुले किरात, लिम्बुवान, खम्बुवानलगायतका नाम राख्न माग गर्दै आन्दोलन जारी राखेका छन् ।

यता पहिचानको आधारमा नाम राख्न माग गरिरहेको बेला सरकारको नेतृत्व गरिरहेको नेकपाले भने प्रदेशको नामा ‘कोसी’ राख्न सहमति जुटाएको श्रोतले बताएको छ । नेकपाका प्रदेश इञ्चार्ज भीम आचार्य, मुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेश सचिव सावित्री काफ्लेलगायतसहित प्रदेश कमिटि ‘कोसी’ प्रदेशका लागि एक मत भएको प्रदेशका एक नेताले बताएका छन् ।

‘नाम लगभग पार्टीको तर्फबाट ‘कोसी’ सिफारिस गरेको छ । राजधानी विराटनगर राखी केही मन्त्रालय सुनसरी मोरङ र धनकुटामा राख्ने गरि छलफल भएको छ ।’–ती नेताले भने–संसद सचिवालय इटहरी बन्ने छ ।’ कोसी वा सगरमाथामा मात्र सहमति जुटाउने सकिने नेकपाले यस अघिदेखि नै भन्दैं आएको थियो । तर कोसीसँग किरात, लिम्बुवान या कुनै फुर्को भने नजोडिने गरि नाम राख्न सकिने सम्मको छलफल भएको एक नेताले बताएका छन् ।

मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम बैशाखा भित्रै टुङ्गाउने भनेर सार्वजनिक कार्यक्रममा बोल्दैं आएका छन् । यद्यपी सत्तारुढ दलले संसदीय दलमा भने छलफलमा ल्याएको छैन् । विकास समितिहरुको संयोजक तोकिए पछि नाम र राजधानीबारे संसदमा नै छलफल गर्ने तयारी पनि भइरहेको बताइएको छ । ब्लाष्टखबर ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्