निरन्तर एउटै विषयमा विपक्षीको विरोधपछि सभामुख पनि दिक्क, भने- शैली परिवर्तन गर्नुस्
काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलले उठेर विरोध जनाएका छन् ।
बैठक सुरु हुनासाथ विपक्षी दलहरु नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले उठेर विरोध विरोध जनाएका हुन्।
विरोधबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले काँग्रेस सांसद हरिनादेवी कामी लाई आफ्नो धारणा राख्न समय दिएका छन्।
सांसद कामीले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को सीम विाद सम्बन्धी अभिव्यक्तिमा जवाफ चाहिने बताइन् । सुकुम्बासीको व्यवस्था हुन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरिन् ।
सांसद कामीले आफ्नो कुरा सकाएपछि सभामुख अगाडि बढ्न खोजे । तर, एक जनाले मात्रै कुरा राखेर अगाडि बढ्ने विषयमा विपक्षी दलहरू सहमत भएनन् । उनीहरूले विपक्षी दलहरूको तर्फबाट एक जनाले मात्रै बोल्ने विषय उचित नरहेको बताए ।
त्यसपछि संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुख अर्यालले आग्रह गरेका हुन् ।
सभामुख अर्यालले भने- ‘मैले माननीय सदस्यहरूलाई आग्रह गरे बमोजिम नै माननीय सदस्यहरूको विरोध गर्ने शैली पनि ‘ विरोध पनि के विषयमा मात्रै बोल्नुस्, त्यहाँबाट बाहिर नजानुस् भनेर सभामुखले भनिरहनुपर्ने अवस्था आउनु राम्रो होइन ।’
विपक्षी दलहरूले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी संसदबाट दिएको अभिव्यक्ति संसदमै आएर सच्याउनु पर्ने माग गर्दै आएका छन् ।
गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
सोही विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार










