नेपाली सेनाले किन कठोर नीति अवलम्बन गर्दैछ ?


 


काठमाण्डौँ । नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।

‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि सुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्र्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिए ।

उनले भने, “सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुने छैन ।”

हाम्रा पूर्खाको बलिदानबाट गौरब गर्न लायक सङ्गठनका रुपमा नेपाली सेना उभिनुपर्छ भन्दै प्रधानसेनापति थापाले सेनाको छवि धुमिल्याउन अझैपनि केही शक्ति सक्रिय भएको बताएका छन् ।

आर्थिक अनियमिता विरुद्ध सङ्गठनले लिएको शून्य सहनशीलताको नीति जङ्गी अड्डाबाटै सुरु गरिने बताउँदै उनले विगतमा भएका अपारदर्शी क्रियाकलापले सङ्गठनलाई पारदर्शी बनाउन कठिन भएकाले यस विषयमा सकल दर्जाले हेक्का राख्नु आवश्यक भएको उल्लेख गरे ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्