इटहरी केन्द्र भागमा पर्ने गरी बृहत विराट क्षेत्र विकास


 


विराटनगर । प्रदेश १ सरकारले भौगोलिक रुपमा सुनसरीको इटहरीलाई विभिन्न १२ वटा पालिकाको केन्द्र भागमा पार्ने गरी बृहत विराट क्षेत्रको अवधारणा अघि सारेको छ । प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउन विलम्ब गरिरहेका बेला राजनीतिक वृत्त र जनस्तरमा समेत अनेकन अड्कलबाजी भइरहँदा भौगोलिक हिसाबमा इटहरी केन्द्र भागमा पर्ने गरी बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०७५ प्रदेश संसदमा दर्ता भएको छ ।

प्राचिन विराट राज्य रहेको यस क्षेत्रको समग्र विकासका लागि संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकीकृत विकास आयोजना सञ्‍चालन गर्ने उद्देश्य रहेको सरकारको दाबी छ । तर, प्रस्तावित क्षेत्रको भौगोलिक अवस्थितिलाई हेर्ने हो भने बाह्रवटा पालिकाको केन्द्र भागको रुपमा इटहरीलाई राखिएको छ ।

सरकारद्वारा प्रस्तावित बृहत विराट विकास क्षेत्रमा सुनसरीका सात र मोरङका पाँचवटा पालिका समेटिएका छन् । जसअनुसार मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिका छन् ।

यसैगरी सुनसरीतर्फ धरान र इटहरी उपमहानगरपालिका, दुहबी र रामधुनी नगरपालिका, त्यस्तै बर्जु र गढी गाउँपालिका समेटिएका छन् । क्षेत्रगत हिसाबले पनि यी सबै पालिकाको बीच भागमा इटहरी अवस्थित छ । उत्तरतर्फ धरान, दक्षिणमा दुहबी, गढी, बुढीगंगा र विराटनगर, पश्चिमतर्फ रामधुनी, पूर्वतर्फ सुन्दरहरैंचा तथा ग्रामथानले इटहरी घेरिएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्