स्थानीयबासीले कार्यालय भित्रै थुने जनप्रतिनिधि र कर्मचारी


 


विराटनगर। विराटनगर महानगरपालिका – ६ का वडाअध्यक्ष विजय कामतसहित वडा सदस्य र कर्मचारीलाई स्थानीयले आज ताला लगाएर ५ घण्टासम्म थुनेका छन् । विहान १० बजे नै वडा कार्यालयमा ताला लगाएर ३ बजेसम्म स्थानीयले जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय भित्रै थुनिदिएका हुन् ।

दिउँसो ३ बजे कार्यालय समय सकिएपछि भने स्थानीयले ताला खुल्ला गरेर थुनिएकाहरुलाई बाहिर आउन दिएका थिए । वडा कार्यालय नजिकै ८ जना सुकुम्बासीले ऐलानी जग्गामा बनाएको कच्ची घर बिहीबार अपरान्ह महानगरपालिकाले डोजर लगाएर भत्काएको विरोधमा स्थानीय आन्दोलित बनेका थिए । प्रहरी र नगर रक्षकको सुरक्षा घेरामा घर भत्काइएको थियो ।

वडा भरीका सुकुम्बासी भेला भएर कार्यालयमा तालाबन्दी गर्नुका साथै जनप्रतिनिधि र कर्मचारीलाई थुनेर दिनभर राखिदिंदा दिनभर वडाबाट हुने सेवा प्रवाह प्रभावित बन्यो । सेवा लिनका लागि पुगेका सेवाग्राही त्यत्तिकै फर्कनु पर्यो । भत्काएको घरको क्षतिपूर्ति र पीडितलाई आवासको व्यवस्थाको ग्यारेण्टी नभएसम्म आन्दोलन जारी रहने स्थानीय दिनेशकुमार कामतले बताउनु भयो ।

आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रहरी प्रशासन विरुद्ध नारावाजी गरेका थिए । वडा अध्यक्ष कामतले भनें महानगरले आफूलाई जानकारी नै नदिई सुकुम्बासीको घर भत्काएको बताउनु भयो ।स्थानीयबासीले भनें पूर्व सूचना नै नदिई घर भत्काएकाले महानगरपालिका विरुद्ध अदालतमा मुद्दा दर्ता गरिने बताएका छन् ।

मेयर भीम पराजुलीले नापजाँच गर्दा जग्गा सरकारी रहेको पाइएपछि त्यहाँ बनेका घर टहरा लगायतका संचरना भत्काइएको बताउनु भयो । जग्गा खाली गर्न २४ घण्टा समय दिइएको र नमानेपछि बल प्रयोग गरेर भए पनि खाली गर्नु पर्ने स्थिति आएको बताउनु भयो । उहाँले महानगर सार्वजनिक जग्गा कब्जा गरेर बनाइएका संरचना भत्काउने अभियानमा रहेका कारण जस्तो सुकै अवरोध र विरोध भए पनि काम नरोकिने जानकारी दिनु भयो ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्