थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता


 


काठमाडौँ । एशियाली क्रिकेट काउन्सिल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ ।

थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो । नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसकेकाले रद्द भएको हो ।

खेल वर्षाले रोकिनुअघि थाइल्याण्डले एक ओभर ५ बलमा एक विकेट गुमाएर कुनै रन जोड्न सकेको थिएन् । नेपालका प्रशान्त महतले थाइल्याण्डले चावात्रीचाइलाई शून्य रनमा आउट गरेका थिए ।

खेल नतिजाविहीन बनेसँगै नेपाल र थाइल्याण्डले एकरएक अङ्क बाडेका छन् । नेपालले यसअघिका दुई खेल जितेको थियो । थाइल्याण्डसँग अङ्क बाडेसँगै नेपालले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले तीन खेलमा पाँच अङ्क जोड्यो । मलेसिया चार अङ्कसहित उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

थाइल्याण्ड र म्यानमार भने समूह चरणबाट बाहिरिएका छन् । थाइल्याण्डले तीन अङ्क जोड्दा म्यानमारले अङ्क जोड्न सकेको थिएन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ३५ ओभर खेल्दै सात विकेट गुमाएर २३४ रन बनाएको थियो ।नेपालको उच्च योगफलमा आशिष भट्टराईले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै विशालविक्रम केसीले ३८ रन र दीपक बोहराले ३५, विशालकुमार पटेलले २८ र निखिलकुमार सिंहले २२ रन बनाएका थिए ।साविकको विजेतासमेत रहेको नेपालले पहिलो खेलमा म्यानमारलाई सात विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । अघिल्लो संकरणमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रकाशित मिति: १२ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्