एसीसी यु–१६ क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो


 


काठमाण्डौँ । नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालले उपाधि जितेको हो ।

थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो ।

मलेसियाका तीन खेलाडीबाहेक अरु खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् । मोहम्मद हजिक ऐमानले १८, वान मोहम्मद अजामले १६ र जिनेन्द्र मुरलीले १४ रन बनाए । २१.५ ओभरमा सातौं विकेट गुमाएको मलेसियाले आठौं विकेटका लागि मोहम्मद हजिक ऐमान र जिनेन्द्र मुरलीले पारी सम्हालेका थिए । ऐमान र मुरलीले २८ रनको साझेदारी गरेका थिए ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपक बोहरा र विशालकुमार पटेल चम्किए । विशालले चार विकेट लिदा दीपकले तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाए पनि अरु खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्