बेलायतमा यसरी सम्मानित हुँदैछिन भाेजपुरे चेली


 


mira rai sammanलण्डन, बैशाख ९

वर्ल्ड अल्ट्रा म्याराथन सिरिजमा उत्कृष्ट स्थान लिनसक्ने सम्भावना बोकेकी मीरा राईलाई बेलायतमा विशेष सम्मान गरिने भएको छ। बेलायतबासी सम्पूर्ण नेपाली समुदायबाट हौसला साथै प्रोत्साहन दिन केन्ट, फोल्क्स्टनस्थित हार्भी ग्रामर स्कुलमा मे १ तारिख दिउँसो एकबजे सम्मान कार्यक्रम तय गरिएको जानकारी नेपाली युवा समुह बेलायतका अध्यक्ष रिचर्ड गुरुङले दिए ।

भोजपुरकाे सानोदुम्मा गाविसकी राई परिवारमा दोश्राे सन्तानको रुपमा धर्तीमा उदाएकी हुन् । देश नेपाललाई परिवर्तन गर्ने मनोकांक्षा राख्दै बाल्यावस्थामै उनी एमाओवादीमा प्रवेश गरेकी थिइन् । १२ वर्षको कलिलो उमेरमै नयॉ नेपालको सपना बुनेकी मिरा सेना समायोजनमा अयोग्य घोषित भएपछि उनलाई शिविरबाट निष्कासित गरिएको थियो ।

समाज बदल्ने सपना टुटेपछि आफनो जन्मघर फर्कनसमेत मीरालाई मन लागेन । शिविरमा रहँदा उनले केही कौशलको ज्ञान प्राप्त गरेकी हुनाले, त्यही क्षेत्रमा अघि बढने उनको चाहना थियो । विडम्बना आर्थिक स्थिति नाजुक रहेकोले त्यो सम्भव हुन सकेन । मिरा मजदुरीका लागि विदेश जाने निर्णयमा पुगेकी थिइन् । यसरी भौतारिँदै हिँडिरहेकी मीराको भेट बालाजु कराते डो प्रतिष्ठान, नेपालका प्रमुख प्रशिक्षक ध्रुवविक्रम मल्लसग हुन पुग्यो ।

मुटुको क्षमता ढुकढुकीले पहिचान गरेजस्तै मल्लले मिराको अल्ट्रा धावक पहिचान छर्लङ्ग देखेका थिए । उत्प्रेरक ध्रुवले नीजि स्रोतबाट तालिम गराउन सुरु गरेको केही महिनामै मीराले पहिलोपटक नेपालमै म्याराथनको उपाधि चुमेकी थिइन् । एउटा भनाइ छ, पीरले मानिसलाई बाँच्न सिकाउँछ, ऋणले कमाउन सिकाउँछ , दुश्मनले जित्न सिकाउँछ, अभावले लड्न सिकाउँछ ।

मीराले नेपाल सरकारको ढुकुटीबाट एक रुपयाँ पनि खर्च नलिईकन विश्वमा नेपाल भनेर चिनाउदै चन्द्र र सूर्य अंकित झन्डा फर्रफराईरहेकी छन् । एसियामा रेकर्डसहित प्रथम हुँदै इटालीमा ५७ र ८० किलोमिटरमा प्रथम र मोन्ट–ब्लान्क फ्रान्समा रेकर्डसहित ८० किलोमिटरको अल्ट्रा म्याराथनमा च्याम्पियनको उपाधि चुम्दै स्पेनमा भएको ११० किलोमिटरमा तीन पटकसम्मको विश्व विजेतालाई पछि पार्दै बरियतामा विश्व उपविजेता बन्न सफल भएपछि उनको चर्चा एक्कासी चुलिएको हो।

वर्ल्ड सिरिज २०१६ मा दोस्रो भएकी मीराले नेपालमा ६ र विदेशमा ८ दौड जितिसकेकी छन् । आगमी अप्रिल ३० तारिख बेलायतमा हुन गइरहेको सलोमन दौडमा कान्तिपुर दैनिक समाचारको लोगो अंकित टिसर्ट लगाएर प्रतिस्पर्धा गर्ने छिन् । प्रतिस्पर्धापश्चात हार्भी ग्रामर स्कुलमा सम्मान कार्यक्रम तय गरिएको छ । कार्यक्रमका आयोजकहरु सगरमाथा तेक्वान्दो डोजाङ, नेपाली युवा समूह बेलायत, किराँत राई यायोक्खा, जेन मार्सल आर्ट र भोजपुर समाज रहेका छन् । मीराको निरन्तरतालाई दिगो राख्नको लागि विशेष सम्मान कार्यक्रम साथै अार्थिक सहयोग गर्ने भावनाले उक्त कार्यक्रम अायोजना गरिएको हो ।

सो कार्यक्रममा उपस्थित हुन बेलायतबासीहरूमा सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष राष्ट्र राई र नेपाली युवा समूह बेलायतका अध्यक्ष रिचर्ड गुरुङले अनुरोध गरेका छन् । यसैगरी सम्मानकै सिलसिलामा दोश्रो गोर्खा रेजिमेन्टले मे २ तारिख रेजिमेन्टको विशिष्ट आदर र पल्टनको परम्पराअनुसार धावक मीरालार्ई स्वागत साथै विशेष सम्मान गरिने छ ।

दयनीय अवश्थाबाट संघर्ष गर्दै नेपाली र नेपाल राष्ट्रका लागि उल्लेखनीय भूमिका निभाउँदै राष्ट्र र राष्ट्रिय पहिचान विश्वसामू अंकित गरिरहेकी मीरालाई आगामी अल्ट्रा सिरिजहरुको प्रतिस्पर्धामा आईपर्ने आर्थिक अभावलाई केही हदसम्म सहयाेग गर्न दोश्रो बटालियनका सैनिकहरुलगायत लेडिज कम्युनिटीबाट आर्थिक संकलनको अभ्यास भइरहेको बटालियनका गोर्खा मेजर प्रेमबहादुर गुरुङले बताए ।

वी नेपालीबाट

याे पनि पढ्नुहाेस्

भोजपुरे छोरीले राखिन नेपालको शान (फोटो फिचर सहित)

नेपाली चेली मिरा बनिन ‘विश्व उपबिजेता’

प्रकाशित मिति: ९ बैशाख २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्