आर्थिक वृद्धि १३ वर्षयताकै कम


 


ministry-of-health
भारतीय नाकाबन्दीका कारण नेपालको आर्थिक वृद्धि १३ वर्षयताकै न्यून भएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा चालू आर्थिक वर्ष आर्थिक वृद्धिदर ०.७७ प्रतिशत हुने अनुमान गरिएको छ।

अघिल्लो वर्ष ३.०३ प्रतिशत आर्थिक वृद्धिदर भएको अनुमान सार्वजनिक गतवर्ष गरे पनि संशोधित अनुमानमा २.३२ प्रतिशत भएको अनुमान विभागले गरेको छ। तथ्यांक सार्वजनिक गर्दै विभागका महानिर्देशक सुमन अर्यालले भूकम्प र सीमा नाकामा भएको अवरोधका कारण आर्थिक वृद्धिदरमा कमी आउन पुगेको बताए।
‘अहिलेसम्मको स्थिति हेर्दा ०.७७ प्रतिशत मात्र वृद्धिदर हुन्छ भन्ने हाम्रो अनुमान हो। आर्थिक वर्ष सकिने समयमा केही बढ्न सक्छ’ ,अर्यालले भने।

विभागका अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा प्राथमिक क्षेत्रमा रहको कृषि, वन, मत्स्य र खानी तथा उत्खनन् क्षेत्रको योगदान ३२.२८ प्रतिशत, द्वितीय क्षेत्रमा रहेको निर्माण, उद्योग र विद्युत् तथा पानी क्षेत्रको १३.४३ प्रतिशत र सेवा क्षेत्रको ५४.२९ प्रतिशत छ। तथ्यांकअनुसार जीडीपीमा कृषि क्षेत्रको ३१.६९ प्रतिशत र गैरकृषि क्षेत्रको ६८.३१ प्रतिशत योगदान छ।

क्षेत्रगत आधारमा कृषि तथा वन क्षेत्रको वृद्धिदर १.१४ प्रतिशतले, मत्स्यपालन क्षेत्रको ११.७६ प्रशितले बढेको छ। खानी तथा उन्खनन क्षेत्रको ६.५४ प्रतिशतले घटेको छ भने उद्योग क्षेत्रको उत्पादन ९.८६ प्रतिशतले घटेको छ। विद्युत्, ग्यास र पानीको १.६६ घटेको छ निर्माणको ३.९८ प्रतिशतले घटेको र थोक तथा खुद्राको पनि १.१३ प्रतिशतले घटेको छ।

यस्तै होटेल तथा रेस्टुरेन्टको ४.८५ प्रतिशतले घट्ने, यातायात सञ्चार तथा भण्डारण २.५५ प्रतिशतले घट्ने र वित्तीय मध्यस्थाताको ३.३ प्रतिशतले बढ्ने छ। रियलस्टेटको ३.७२ प्रशितले बढ्ने, सार्वजनिक प्रशासन तथा रक्षाको ५.७८ प्रतिशतले बढ्ने र शिक्षा क्षेत्रको ६.६९ प्रशितले बढ्ने अनुमान विभागले गरेको छ।

स्वास्थ्यको ८.८५ प्रतिशतले वृद्धि हुने र अन्य सामुदायिक तथा सामाजिक तथा व्यक्तिगत सेवामा ५.६ प्रतिशतले बढ्ने अनुमान गरेको छ।विभागको तथ्यांकले भारतीय नाकाबन्दीको कारण सबैभन्दा बढी प्रभाव औद्योगिक र सेवा क्षेत्रमा परेको देखिएको छ।

पानी नपरेको तथा नाकाबन्दीको कारण मल तथा बिउ नपाएको कारण कृषि क्षेत्रको उत्पादनमा पनि घटेको छ।गतवर्ष सरकारले बजेट ल्याउने समयमा आर्थिक वृद्धिदर ६ प्रतिशत गर्ने लक्ष्य राखेको थियो।

असोजदेखि सुरु भएको भारतीय नाकाबन्दीका कारण अर्थतन्त्रले ठूलो नोक्सानी भोग्नु परेको हुँदा वृद्धिदर कमी भएको हो।विभागका अनुसार एकवर्षमा नेपालीको आम्दानी तीन हजार ८ सय रुपैयाँले बढेर वार्षिक आम्दानी ८० हजार नौ सय २१ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७७ हजार ७९ रुपैयाँ थियो।

प्रकाशित मिति: २२ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्