कस्ताे अाउँदैछ बजेट


 


काठमाडाैं, बैशाख २५

नेकपा एमालेले आफ्नै नेतृत्वमा लोकप्रिय कार्यक्रमसहितको बजेट ल्याउने तयारी गरेको छ । एमाओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णयगरेसँगै संकटमा परेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ९ बुँदे सहमतिपछि ढल्नबाट जोगिएको थियो । बिहिबार राती एमाओवादीसँग बजेट एमाले नेतृत्वको सरकारले नै ल्याउने सहमति भएसँगै एमाले लोकप्रिय कार्यक्रमसहितको बजेट ल्याउने तयारीमा जुटेको स्रोतका भनाई छ ।

०५१ सालको मध्यावधिक निर्वाचनपछि ठूलो पार्टीको हैसियतामा मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्दा एमालेले निकै लोकप्रिय बजेट ल्याएको थियो । अधिकारी नेतृत्वको ९ महिने सरकारले ल्याएको लोकप्रिय तथा वितरणमुखि बजेटको अहिले पनि चर्चा भइरहेको अवस्थामा एमालेले फेरि त्यस्तै लोकप्रिय र वितरणमुखि बजेट ल्याउन लागेको स्रोतका भनाई छ ।
जेठ १५ गतेभित्रै पूर्ण बजेट ल्याउने गरी जुटेको अर्थमन्त्रालय नाकाबन्दी र मधेस आन्दोलनले थलिएको अर्थतन्त्रलाई समेत गति दिने गरि बजेट बनाउन लागिपरेको बताउँछ । सरकारको नेतृत्व र अर्थमन्त्रालय एमालेकै नेतृत्वमा रहेकाले स्वाभाविक रुपमा आर्थिक वर्ष २०७३ को बजेट एमालेकै योजनामा आधारित हुने जानकारहरु बताउँछन् । यसैप्रति संकेत गर्दै एमाले महासचिव इश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेट जनमुखि बनाउन एक सार्वजनिक कार्यक्रममा बताएका छन् ।
उनले बजेट मधेस आन्दोलन र नाकाबन्दीले लथालिंग भएको अर्थतन्त्रलाई सम्बोधन गर्नुका साथै जनतालाई प्रत्यक्ष जोड्नसक्ने खालको हुनुपर्नेमा पखनि जोड दिएका छन् ।

बजेटमा  सरकारको प्राथमिकता
संसदबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यसअघि नै पारित भइसकेको छ । संसदबाट पारित नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको सरकारको प्राथमिकता संविधानको कार्यान्वयन पुननिर्माण, उर्जा क्षेत्रको विकास, रोजगारी सिर्जना, उद्यमशीलतामा तथा उत्पादनमा आधारित आत्मनिर्भरमूखी अर्थतन्त्रको निर्माण, उच्चतम आर्थिक वृद्धिदरलगायत भएको उल्लेख छ । र, सोहि अनुसार बजेट ल्याइने बताइएको छ ।
यसबाहेक सरकारले सरकारी कर्मचारीहरूको तलब बढाउने, स्वदेशी पुँजीमै ठूला आयोजनाहरूको निर्माणको घोषणा गर्ने , बेरोजगार युवाहरूको लागि विषेश व्यवस्था गर्नेलगायतका जनमुखी कार्यक्रमहरु ल्याउन लागेको अधिकारीहरुको भनाई छ ।
सरकारले आगामी आर्थिक वर्ष ०७३÷७४ को नीति तथा कार्यक्रम आइतबार संसदमा प्रस्तुत गर्न लागेको छ । नेपालको संविधानमा भएको व्यवस्था अनुसार सो नीति तथा कार्यक्रम राष्ट्रपति विद्या भण्डारीले अपरान्ह प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: २५ बैशाख २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्