काठमाडौंका लागि गुड्यो चिनियाँ रेल


 


chinese rail

चीनले नेपाल लक्षित रेल सेवा सुरु गरेसँगै सामान ढुवानीमा सहज हुने भएको छ । चीनको उत्तरपश्चिमी गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार ठूलो परिमाणको सामाग्री बोकेर चिनियाँ रेल नेपालका लागि छुटेको छ । ७०११ नम्बरको रेलको अगाडि चिनियाँ भाषामा लानझाउ–काठमाडौं भनेर लेखिएको छ । चिनियाँ पिपुल्स डेलीको अनलाइन संस्करणले त्यो रेलको अन्तिम गन्तव्य काठमाडौं भएको उल्लेख गरेको छ ।

chinese rail
तर तिब्बतको सिगात्सेसम्म मात्र रेलमार्ग भएकाले त्यसपछि सडकमार्ग हुँदै केरुङ नाकासम्म सामान आइपुग्नेछ । चीनबाट सामान काठमाडौं ल्याइपुर्याउन तीन चरण पार गर्नुपर्ने हुन्छ । पहिलो चरणमा लान्झाउबाट सिगात्सेसम्म आइपुग्न २ हजार ४ सय ३१ किलोमिटर पार गर्नुपर्छ ।
सिगात्से आइपुगेपछि त्यहाँबाट स्थलमार्गको प्रयोग हुन्छ । सिगात्सेबाट नेपालको सिमामा रहेको केरुङ नाकासम्म आइपुग्न ५ सय ६४ किलोमिटर र त्यसपछि काठमाडौं आइपुग्न १ सय ६० किलोमिटर पार गर्नुपर्ने हुन्छ ।
रेलवे कन्टेनर कर्पोरेसनका उपप्रबन्धकका अनुसार रेलमा ४३ वटा कार र ८६ कार्गो कन्टेनर छन् । रेलमार्गको उल्लेखित रुट तय गर्दै कार्गो सामान काठमाडौं आइपुग्न १० दिन लाग्ने अनुमान छ । चिनियाँ सञ्चार माध्यमका अनुसार यो रुटबाट सामान काठमाडौं पुग्न समुद्री रुटभन्दा ३५ दिन कम लाग्छ ।
यसअघि नियमित रुपमा चल्ने रेलका डिब्बा बुक गरेर सामान ल्याउनुपर्ने हुन्थ्यो । जसका कारण सामान कहिले आइपुग्छ भन्ने यकिन हुँदैनथ्यो । तर अब नेपालतर्फ आउने सामान बोक्ने डिब्बा निश्चित भएको छ । यसले सामान छिटो, भरपर्दो र सुरक्षित तरिकाले आयात गर्न सकिनेछ ।
जहाजबाट भन्दा रेलमार्ग छिटो र ढुवानी लागत पनि कम लाग्ने भएकाले यसले दुई देशबीच व्यापार गर्न सहज हुने बताइएको छ । गएको महिना प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच भएको पारवाहन सम्झौता अनुसार रेल सेवा सुरु भएको हो ।
रेल सेवाले चीनका विभिन्न प्रान्तको दक्षिण एशियाका मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने विश्वास चीनले लिएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्