मध्यरातमा बालुवाटारमा किन बस्यो पूर्व एमालेको छुट्टै बैठक ?


 


काठमाडौं । पार्टी एकताको अन्तिम गृहकार्य चलिरहेको बेला नेकपाभित्र विभागको भागबन्डा पेचिलो बनेको छ । पूर्वमाओवादीभन्दा पूर्वएमालेमा विभागको टुंग्गो लगाउन सकस परेको छ । पार्टीका प्रभावशाली नेताहरुले विभागको प्रमुखमा आँखा गाढेपछि पूर्वएमालेभित्र विभागको भागवन्डा पेचिलो बन्दै गएको हो ।

पार्टीभित्र स्कुल विभाग सवैभन्दा बढी पेचिलो बनेको छ । नेकपाका धेरै नेताले स्कुल विभागमा आँखा लगाएका छन् । विदेश विभागमा माधवकुमार नेपाल, संगठन विभागमा बामदेव गौतम, संसदीय विभागमा सुवास नेम्वाडलाई प्रमुख बनाउने सहमति भएपनि पूर्वएमालेमा स्कुल विभागको टुंगो लागेको छैन । स्कूल विभागमा सचिवलाय सदस्य इश्वर पोखरेलले आफ्नो अडान छोडेका छैनन् ।

आफ्नो भागमा परेका विभागको टुंग्गो लगाउन विहीवार मध्यरातमा पूर्वएमालेको छुटै बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पूर्वएमाले समुहको बैठकले विदेश बिभाग, संगठन विभाग र संसदीय विभागमा सहमति जुटायो तर स्कुल विभागमा भने सहमति जुट्न सकेन । स्कुल बिभागमा पूर्वमाओवादी समुहले पनि दावी गरिरहेको छ । नेता नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलबीच स्कुल बिभागमा बढी रस्साकस्सी चलिरहेको छ । तर पूर्वएमालेभित्र स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई स्कुल विभाग प्रमुख बनाउन दवाव बढेको छ ।

मध्यरात बालुवाटारमा बसेको पूर्वएमालेको बैठकमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, बामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य इश्वर पोखरेल सहभागी थिए । बैठकले झलनाथ खनाललाई नीति अध्ययन प्रतिस्ठानको प्रमुख बनाउने निर्णय गरेको छ ।

३२ विभाग मध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ विभागको प्रमुख लिने सहमति भइसकेको छ । पूर्वमाओवादीले अर्थविभाग र प्रचार विभाग पाउने सहमति भएको छ । प्रत्येक विभागमा ३५ सदस्य रहने ब्यवस्था छ । जसमा २० पूर्वएमाले र १५ पूर्वमाओवादीबाट सदस्य रहनेछन् ।

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्