अख्तियारको हिरासत इन्जिनियर र प्रहरीले भरियो


 


काठमाडौं । साउन ४ गते कर्णाली व्यवस्थापन कार्यालय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वरप्रसाद शाह, इन्जिनियर हरिप्रसाद चौधरी र सवारीचालक टंकप्रसाद ओझालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित पक्राउ गर्याे ।

तारजाली भरेको रकम भुक्तानीबापत् उनीहरूले घुस लिएका थिए । उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

– सिरहाको गोलबजार नगरपालिकाका सब–इन्जिनियर उमा श्रेष्ठ ५० हजार घुससहित पक्राउ परिन् । शौचालय निर्माणको भुक्तानी सहज बनाएबापत् घुस लिएकी उनलाई गोलबजार–७ पुरानो चोहर्वा बसपार्कस्थित होटलबाट असार ३ पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र सवारीचालक सुमन खड्कालाई १४ लाख ६८ हजार घुस रकमसहित असार ३ मा अख्तियार टोलीले भक्तपुर जगातीबाट पक्राउ गर्याे ।

– रामनगर गाउँपालिका, सर्लाहीका इन्जिनियर रामजीबाबु यादवलाई ५० हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । विद्युत जडानको प्राविधिक मूल्यांकनसहित कार्य सम्पन्न प्रतिवेदन बनाएर भुक्तानी सहज गराएबापत् उनले घुस लिएका थिए ।

– असार २४ गते बाराको पचरौता नगरपालिकाका इन्जिनियर रामप्रकाश सतरा १४ हजार घुससहित पक्राउ परे । उनले नगरपालिकास्थित स्कुलको कम्पाउन्ड वाल निर्माण सम्पन्न भएपछि नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा घुस मागेका थिए। उनी र कार्यालय सहयोगी धुव्र महतोलाई १५ हजार र सोही कार्यालयका नासु बद्रीबहादुर थापालाई १४ हजार घुससहित कार्यालय परिसरबाटै अख्तियारले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

– असार १७ गते खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर वासी अख्तर मोहम्मद ४ लाख घुससहित पक्राउ परे । खानेपानी आयोजनाको भुक्तानी दिएकोमा विभिन्न बहाना बनाइ रकम लिइसकेको अवस्थामा पुतलीबजारबाट नियन्त्रणमा लिइ अख्तियारले अनुसन्धान गरिरहेको छ ।

– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय प्रमुख डीई अजितकुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्ना २ लाख घुस रकमसहित पक्राउ परे । निर्माण भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको रनिङ बिल फरकफारक गराइदिने भन्दै उनले घुस लिएका थिए । असार १२ मा कार्यकक्षबाटै रकमसहित पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यी माथि उल्लेख भएका सबै घटनामा इन्जिनियरहरू पक्राउ परेका छन् । असार र साउनमा अख्तियारको फन्दामा धेरै इन्जिनियर परेका छन् । विकास निर्माणका काममा घुस खाने प्रवृत्तिले उनीहरू अख्तियारको हिरासतमा पुगे । विकास निर्माणमा कमिसनबापत् घुस लिने प्रचलन बसिसकेको छ । सबै साना ठूला आयोजनामा १० प्रतिशत त कमिसन खर्च छुट्याउनु पर्छ ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

प्रकाशित मिति: १२ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्