जिल्ला प्रशासन पाँचथरद्धारा एक करोड ९६ लाख राजश्व संकलन


 


फिदिम, साउन १९

जिल्ला प्रशासन कार्यालय पाँचथरले गत आर्थिक वर्षमा राहदानी दस्तुर वापत रु. एक करोड ९६ लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुशार गत आर्थिक वर्ष २०७५/०७६ मा राहदानी दस्तुर वापत रु. एक करोड ९६ लाख २८ हजार ७८५ राजश्व सङ्कलन भएको हो ।

उक्त अवधिमा पाँचथरका तीन हजार तीन सय ६९ जनाले साधारण सिफारिसबाट राहदानीका लागि फारम भरेका थिए । जसमध्ये एक हजार एक सय ४० जना महिला छन । यस्तै एक हजार चार सय २९ जनाले राहदानीका लागि फारम भर्न जिल्ला प्रशासन कार्यालयबाट द्रुत सिफारिस लगेका छन ।

यसरी जिल्लाबाट द्रुत सिफारिस लगेर राजधानीबाट राहदानी निकाल्नेमध्ये पाँच सय ११ जना महिला छन । यस्तै दुई सय ७५ जना राहदानी विग्रिएको तथा हराएकाहरुले नयाँ राहदानी लिएको उक्त कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयले राहदानी सहित अन्य दस्तुर र राजश्वबाट कुल रु दुई करोड चार लाख ७५ हजार ७६६ राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले प्रशासनिक दण्ड जरिवाना तथा जफतबाट रु. पाँच लाख ७५ हजार ९१८, संघ संस्था दर्ता तथा नवीकरणबाट दुई लाख नौ हजार ७००, हातहतियार नामसारी तथा नवीकरणबाट रु. ५७ हजार र आकस्मिक लाभकरबाट रु. ४ हजार ३६३ राजश्व सङ्कलन गरेको जनाएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्