म परदेशी हुँ



 

 

 

 

म प्रदेशी हुँ

आमाको हातको
रातो टीका लगाएर
केही अनगिन्ती
सपनाको कुम्लो बोकेर
जब म मुगलान पसेको थिएँ
परिवारसँग
छुट्ने चाहाना नहुँदा नहुँदै
बाध्यताले
मलाई परदेशी बनायो ।
लाखौं सपनाको खात बोकेर
कल्पनाको ठूलो महल बनाउन
मैले आफ्नै देशको सीमा नाघेको हुँ ।
जब,
रहर, चाहाना भन्दा ठूलो
बाध्यताको खम्बा गढियो
म चुपचाप निःशब्द
बिदेशिन बिवश भएँ ।

हरेक साँझ,
घरको यादले सताउदा
म आकाशको तारा नियाल्छु
जब,
याद बल्झाउन
ती चाडपर्व आउँछन्
मुटु गाँठो पारेर बस्छु,
फेरि सम्झिन्छु,
म पनि
दशै आउन लाग्दै गर्दा
घर छोडेर परदेशीएको थिएँ,
सोचेको थिएँ
यहाँ,
ठुलै सुख शान्ति, सम्पति
प्राप्त हुदो हो ।
तर,
ठिक बिपरित हुँदोरहेछ ।
सुख शान्ति त केवल
सोचाईमा मात्रै सीमित भयो ।
घर फर्किने मन त
कत्ति हो कत्ति ।
तर,
आउनु भन्दा धेरै गाह्रो
फर्किन हुदोरहेछ,
यहाँ यो जिन्दगी
साच्चै बन्धक भएको छ ।
मन सम्हाल्न
धेरै गाह्रो भएको छ,
घरको दुःख
बाबाको खाली खुट्टा,
आमाको फाटेको चोली
भार्इ बहिनीको
स्कुल पढ्ने रहर
यी सबै कुराले
मलाई कमाउन पठायो ।
सात समुन्द्र तरेर
आफ्नै भूमिको माटो छोडेर
म अपरिचित शहरमा पुगेछु ।
अरे…मित्र,
मलाई यो नसम्झाउ कि
चाडपर्व आउँदैछ
बा,, बिरामी हुनुहुन्छ,
खै म के गरौ,
मेरो जिन्दगी
बन्धकी राखेको छु ।
म उठेर फर्किन्छु
या त सुतेर फर्किन्छु
म आफैलाई थाहा छैन ।
मलाई हालखबर नसोध,
म मरुभुमिको
बिरुवा हुँ ।
जेनतेन बाँचेको छु,
मेरो हरेक खुसीहरु
बाध्यतामा साटिन्छन
किनकी,
म एक परदेशी हुँ ।

बबिता भुजेल
खोटाङ
हाल(बिराटनगर ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News