युवा विदेश पलायनसंगै खेत बाँझिने क्रम बढ्दो


 


khetयोगेन्द्रकुमार जोगी
संखुवासभा, साउन १०

उब्जनीयुक्त खेतबारीमा  किसानले काम गर्न छाडेपछि खेतहरू बाँझिदै जान थालेको हो । युवा जनशक्ति विदेश पलायनसंगै खनजोत गर्नका लागि आवश्यक जनशक्ति नभएपछि खेतबारी बाँझिदै गएको किसान धनपति पोखरेलले बताए ।

‘गाउँका युवाहरू विदेश पलायन संगै खनजोत गर्ने मान्छे हुन्न’ उनले भने ‘प्रायः महिला र बालबालिका मात्र गाउँमा भेटिने गरेका छन् ।’ उनका अनुसार जिल्लाका राम्चे, चेवा, पिप्ले, धुपु, तोरीबारी लगायतका गाउँमा अधिकांशको खेत बाँझो रहेको छ ।

 ग्रामीण क्षेत्रका नागरिकहरूको आर्थिकस्तर उकासिएकाले समेत खेतबारी बाँझिएको धुपुका किसान भिम बहादुर श्रेष्ठले बताए । रुद्राक्षले किसानको आर्थिक अवस्था संवृद्ध भएकोले किसानले खेतीपातीमा खासै चासो नदिएको रुद्राक्ष ब्यापारी दिलीप श्रेष्ठको भनाइ छ।

खेतबारीमा काम गर्ने नभएपछि पहिलेको जस्तो अँधिया कसैले गर्न नमाने गरेको कुमार मगरले बताए । पाखे खेतमा आकासे पानीको भरपर्नु पर्ने भएकाले आवश्यकता अनुसारको पानी नपर्ने हुनाले खेतहरू बाँझो हुने क्रम बढेको धुपुकै किसान भक्ति प्रसाद दहालले बताए।

खेतबारीमा काम गर्ने जनशक्ति अभावका कारण खेतबारी बाँझो नहोस् भन्दै जिल्ला कृषि विकास कार्यालय संखुवासभाले यो वर्ष जिल्लाका विभिन्न ठाउँमा हाते ट्याक्टर वितरण गरेको छ ।

हाते ट्याक्टरको स्थानीय मुल्य २ लाख ५० हजारदेखि ३ लाखसम्म पर्ने दुगड ब्रदर्श एण्ड सन्सका स्थानीय बिक्रेता रविन गौतमले बताए। जिल्लामा कुल ३१ हजार ६ सय ८४ हेक्टर जमिन खेती योग्य रहेको जिल्ला कृषि विकास संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति: १० श्रावण २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्