भोजपुरमा ८० प्रतिशत रोपाइँ सकियो


 


भाेजपुर, साउन १६

भोजपुरमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । जेठको पहिलो साताबाट सुरु भएको रोपाइँ साउन मध्य हुँदासम्ममा ८० प्रतिशतको हाराहारीमा सकिएको जिल्ला कृषि विकास कार्यालय, भोजपुरले जनाएको छ ।

यस वर्ष ८५ प्रतिशतको हाराहारीमा रोपाइँ हुन सक्ने वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताउनुभयो । साउने तौली धान लगाएका कृषकले मात्र रोपाइँ गर्न बाँकी रहेको बताइएको छ ।

बढ्दो वैदेशिक रोजगारीसँगै सहरकेन्द्रित बसाइँ सराइका कारण खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै जाँदा भोजपुरमा यो वर्ष १५ प्रतिशतभन्दा बढी धानखेती हुने जमिन बाँझिन सक्ने कृषि विकास कार्यलय, भोजपुरको आँंकलन छ । भोजपुरमा १९ हजार १९० हेक्टरमा धानखेती हुने गरेको छ ।

गत वर्ष धानखेती हुने कुल क्षेत्रफलमध्ये ८५ प्रतिशतमा रोपाइँ गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । भोजपुरका कृषकले अट्टे र बेलकुटी बासमती मनसरा जातका स्थानीय धान बढी मात्रामा रोप्ने गरेका छन् । रासस

प्रकाशित मिति: १६ श्रावण २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्