त्रिनगर भन्सारलाई राजस्व संकलनको लक्ष्य भेटाउन कठिन


 


अंकुश कुँवर/ धनगढी, असोज ३०
कैलालीको त्रिनगर भन्सार कार्यालयलाई चालू आर्थिक वर्ष २०७६÷७७ मा राजस्व संकलनको लक्ष्य भेटाउन कठिन हुने भएको छ ।

भन्सार विभागले दिएको प्रत्येक महिनाको लक्ष्य भेट्न नसकिने स्थिति भएपछि भन्सार कार्यालयलाई यस वर्ष राजस्व लक्ष्य भेट्न कठिन देखिएको हो ।

भन्सार कार्यालयले चालू आर्थिक वर्षको दुई महिनामा तोकिएको लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । भन्सार कार्यालयले साउनमा लक्ष्यको ६५ प्रतिशत अर्थात ३५ करोड ४० लाख ८५ हजार राजस्व संकलन गरेको छ ।

यो महिनामा विभागले ५३ करोड ७९ लाख ८५ हजार राजस्व संकलनका लागि लक्ष्य तोकेको थियो । यस्तै, कार्यालयले भदौमा लक्ष्यअनुसार झन कम राजस्व संकलन गरेको छ ।

यो महिना ५९ प्रतिशत अर्थात ३९ करोड ८५ लाख ३२ हजार राजस्व संकलन भएको छ । यो महिनाका लागि भन्सार विभागले त्रिनगर भन्सार कार्यालयलाई ६७ करोड २३ लाख पाँच हजार रुपैयाँ राजस्व संकलन गर्न लक्ष्य तोकेको थियो ।


दुई महिनामा भन्सार कार्यालयले ७५ करोड २६ लाख १७ हजार राजस्व संकलन गरेको छ । जसमा भन्सार महसुल ३७ करोड ६१ लख ५२ हजार, मुल्य अभिवृद्धि कर ३२ करोड ९५ लाख ३३ हजार र अन्तशुल्क चार करोड ६९ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भन्सार विभागले चालू आर्थिक वर्षका लागि त्रिनगर भन्सार कार्यालयलाई ६ अर्ब ७० करोड ३१ लख ८६ हजार राजस्व संकलन गर्नुपर्ने लक्ष्य तोकेको छ ।

भन्सार कार्यालयका भन्सार अधिकृत कुमार गौतमले गत वर्षको दाँजोमा असुली बढी देखिएपनि राजस्व संकलनमा भने कमी आएको बताए । उनले गत वर्ष संकलन भएको राजस्वमा भन्सार विभागबाट ३४ प्रतिशत बढाएर यस वर्ष लक्ष्य तोकिएकाले लक्ष्यअनुसार राजस्व संकलन कम देखिएको बताए ।

भन्सार विभागले भन्सार कार्यालयहरुलाई अघिल्लो वर्ष संकलन भएको राजस्वमा केही प्रतिशत बढाएर पछिल्लो वर्षका लागि संकलन गर्नुपर्ने राजस्व लक्ष्य तोक्ने गर्छ ।

विगतका वर्षहरुमा सतप्रतिशत भन्दा पनि बढी राजस्व संकलन गर्ने त्रिनगर भन्सार कार्यालयलाई यस वर्ष लक्ष्यअनुसार राजस्व संकलनमा कठिन देखिएको छ ।

त्रिनगर भन्सार कार्यालय हुँदै आयात हुने सामानमा कडाई गरेपछि भन्सारको राजस्व संकलनमा पनि कमी आएको भन्सार अधिकृत गौतमको भनाई छ । उनकाअनुसार त्रिनगर नाका हुँदै यस वर्ष तकारी, माछामासु, फलफूल आयात गर्न पूर्ण रुपमा बन्द गरिएको छ ।

यो नाका भएर आयात हुने यी चिजमा विषादीको प्रयोग बढेपछि सरकारले नै बन्द गराएको हो । यसको अवसर राजस्व संकलनमा परेको छ । यद्यपि, यी चिजहरु यहाँबाट बन्द भएपनि नेपालगञ्जलगायतका नाकाहरुबाट आयात भइरहेका छन् ।

वार्षिक अर्बौको रुपमा आयात हुने चिजहरु बन्द भएपनि राजस्व संकलन पनि ह्वात्तै घटेको भन्सार अधिकृत गौतमको भनाई छ । उनले त्रिनगर भन्सार कार्यालयका लागि राजस्व संकलन हुने सबैभन्दा ठूलो स्रोत तेल आयात पनि यस वर्षको सुरुबाटै कम आयात भएको बताए ।

जसले गर्दा राजस्व संकलन कम देखिएको छ । अहिले विकास निर्माणका काम नभएपछि तेल आयात पनि घट्दा सुरुवाती दुई महिनामा राजस्व संकलन कम भएको भन्सार अधिकृत गोतमले बताए ।

उनकाअनुसार त्रिनगर भन्सार कार्यालयको राजस्व संकलनको ५० प्रतिशत हिस्सा तेल आयातले ओट्ने गरेको छ । यस्तै, पशुजन्य खाद्यान्य आयातमा पनि कडाई गरेपछि त्रिनगर भन्सार हुँदै दाया आयात कम भइरहेको छ ।

त्रिनगर भन्सार कार्यालयका लागि पेट्रोलियम पदार्थपछि ट्याक्टर, विस्कुट, टायल, मार्बल, सुर्तीलगायत राजस्व संकलनका प्रमुख स्रोतहरु हुन् ।

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्