त्रिनगर नाकाबाट पशुपन्छी तथा पशुपन्छीजन्य वस्तु आयात घट्यो, राजस्व संकलनमा प्रभाव


 



धनगढी, कार्तिक १
कैलालीको त्रिनगर भन्सार नाकाबाट पशुपन्छी तथा पशुपन्छीजन्य वस्तु आयातमा कमी आएको छ । भन्सार नाकामा कडाई गर्दा पशुपन्छी तथा पशुजन्य वस्तु आयामा कमी आएको हो ।

संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अघिल्लो आर्थिकको चैत्र १ गतेदेखि पशुपन्छी तथा पशुजन्य बस्तु आयात तथा निर्यातमा कडाई गरेको छ ।

मन्त्रालयले पशुपंक्षी तथा पशुपंक्षीजन्य बस्तु आयात वा निर्यात गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणसहितका कागजपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था गरेपछि चैत्र यता त्रिनगर नाका हुँदै आयात हुने पशुपन्छी तथा पशुजन्य वस्तु आयातामा कमी आएको हो ।

चालु आर्थिक वर्षको भदौसम्ममा एनिमल फिड सप्लीमेन्ट १२, पशु आहार एक सय ५० दशमलब पाँच, सोया लिसिथिन ६४, हड्डीको धुलो दुई सय दुई र माछाको दाना एक सय दशमलब ९४ मेट्रिक टन आयात भएको छ ।

क्वारेन्टाइन कार्यालयका अनुसार ०७५÷७६ को फागुनदेखि असारसम्म भटमासको पिना नौ सय ५४ मेट्रिक टन, एनिमल फिड सप्लीमेन्ट ८१ दशमलब ६९, फिस फिड ७५ दशमलब ४५ मेट्रिक टन, पशु आहार ७४ दशमलब २७ र सोया लिसिथिन ६० मेट्रिक टन आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्षभरि भटमासको पिना आठ हजार आठ सय ६१ दशमलव ६८ मेट्रिक टन, मकै पाँच हजार चार सय ८ दशमलव ४ मेट्रिक टन तथा एनिमल फिड सप्लीमेन्ट तीन सय ९४ दशमलव ७८ मेट्रिक टन आयात भएको थियो ।

त्यस्तै, सो अवधिमा भारतबाट राइस ब्रान एक सय ७२ दशमलव ५२ मेट्रिक टन, फिस फिड एक सय ६६ दशमलव ११ मेट्रिक टन तथा चना एक सय ५४ दशमलव पाँच मेट्रिक टन, पशु आहार ७४ दशमलब २७ र सोया लिसिथिन ६० मेट्रिक टन आयात भएको क्वारेन्टाइन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

पशु क्वारेन्टाइन त्रिनगरका पशु स्वास्थ्य प्राविधिक श्याम पाठकले चैत्र महिना अगाडिसम्म महिनामा ४० देखि ५० ट्रक पशुपन्छी जन्य दाना बोकेका ट्रक नेपाल भित्रिने गरेकोमा अहिले सातदेखि १० वटा ट्रक मात्रै आउने गरेको बताए ।

उनले भारतमा क्वारेन्टाइनबाट कागजात जुटाउन नसक्ने हुँदा त्रिनगर नाका भएर पशुपन्छी तथा पशुपन्छीजन्य बस्तु आयातमा कमी आएको बताए । यस वर्ष दशैं तिहारलाई भारतबाट आउने खसी र बोका पनि भित्रिएनन् ।

पशुपन्छी आयात पनि विगतका भन्दा निकै घटेको छ । चैत्र भन्दा यता तथा हरेक वर्ष दशैं तिहारका लागि भित्रिने खसी बोका पनि यस वर्ष भित्रिएको रेकर्ड छैन ।

फागुनसम्मा भेडा बाख्रा भित्रिएको तथ्यांक भएपनि चैत्र याता भेडा, बाख्रा तथा खसीबोकाहरु भित्र्याइएको छैन ।

क्वारेन्टाइन कार्यालयले पशुपंक्षी तथा पशुपंक्षीजन्य बस्तु आयात गर्दा संक्रामक रोग समेत भित्रिने तथा सर्ने जोखिम हुने भएकाले ऐनको प्रभावकारी कार्यान्वयन गरिएको जनाएको छ ।

भारतबाट धनगढीको त्रिनगर भन्सार नाका हुँदै गाईगोरु, खसी, बोका, घोडा, खच्चर, झुपु, झुमा, बंगुर, सुँगुर, खरायो, अंगोरा, माछा तथा माछाको भुरा, पिना, मकै, चना (दाना), भटमास, राईसब्रान, फिड सप्लिमेन्ट लगायतका वस्तु आयात हुने गरेको पशु क्वारेन्टाइन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

पशु स्वास्थ्य प्राविधिक पाठकले भारतबाट पशुजन्य वस्तु आयात गर्दा स्वास्थ्य परिक्षणसहितको कागजपत्र बनाउन दिल्ली पुग्नुपर्ने अवस्था रहेका व्यवसायीहरुले यो नाका भन्दा पनि नेपालगञ्जलगायतका नाकाहरु प्रयोग गरेर सामान ल्याइरहेको बताए ।

‘भारतमा पशु क्वारेन्टाइन नै कम छन्,’ उनले भने, ‘त्रिनगर नाका भएर भारतबाट यो समान ल्याउन दिल्ली धाउनुपर्ने हुन्छ ।’ कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत कुमार गौतमले पशु तथा पशुजन्य बस्तुहरु विगतको तुलनामा आयातमा कमी आएकाले राजस्व पनि गुमेको बताए ।

उनले अहिले भारतबाट तरकारी, फलफूल, माछा, मासु तथा पशुहरु आयातमा रोक लगाइएकाले तोकिएको लक्ष्य प्राप्त गर्न असम्भव देखिएको बताए ।

उनले भारतले नेपालबाट नजिकै हुने सहरहरुमा सम्बन्धित क्वारेन्टाइन नराख्दा यो समस्या यथावत रहने बताए ।

प्रकाशित मिति: १ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्