महिला क्रिकेट : विराटनगरको दोस्रो जीत


 


काठमाडौँ, १ कात्तिक

विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । यसअघि विराटनगरले पहिलो खेलमा ललितपुर फाल्कोन्सलाई चार विकेटले हराएको थियो । पोखराले दिएको ९५ रनको सामान्य लक्ष्य विराटनगरले १५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

विराटनगरको जितमा लक्ष्मी चौधरीले सर्वाधिक २३ रनको योगदान दिँदा ज्योति पाण्डेले २२, अश्मिना कर्माचार्यले अविजित १६ तथा डोली भट्टले १२ रन जोडिन् । बलिङतर्फ पोखराकी सीता राना मगरले दुई विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९४ रन जोडेको थियो ।

पोखराका लागि कविता कुँवरले अविजित २२ रन जोड्दा सीता राना मगरले १६, अञ्जली चन्दले १५, रेवती धाँमीले १२ तथा सरस्वती मगर १० रनमा अविजित रहिन् । पोखरालाई सस्तैमा समेट्नेक्रममा विराटनगरकी सबनम राईले दुई विकेट लिइन् भने सोनु खड्काले एक विकेट झारिन् । जितसँगै विराटनगरले दुई खेलमा चार अङ्क जोडेको छ भने पोखराको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पोखरा क्वाट क्विन्स काठमाडौँसँग ८२ रनले पराजित भएको थियो ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: १ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्