दिङ्ला इलाका प्रशासन : सास्ती कहिलेसम्म ?


 


भोजपुर, भदौ ४

जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई सेवा दिन भनेर दिङ्लामा स्थापना गरिएको इलाका प्रशासन कार्यालय सेवाभन्दा सास्तीको केन्द्र बनेको छ । दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयमा प्रमुख नबस्दा स्थानीयवासीले सास्ती बेहोर्नु परेको हो ।

दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयमा प्रमुख पठाएको भएपनि विभिन्न कारण देखाउँदै काजमा बस्ने गरेकाले इलाका प्रशासनबाट प्रवाह हुने सेवा लिनबाट सेवाग्राही वञ्चित भएका छन् । इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुखका रुपमा गणेशविक्रम बस्नेतलाई खटाइएको थियो ।

गत चैत २८ देखि प्रमुख बस्नेत काजमा धनकुटामा बस्दै आएपछि विगत चार महिनायतादेखि सेवा प्रवाहमा समस्या हुँदै आएको छ । कार्यालय प्रमुख नहुँदा जिल्लाको उत्तरी षडानन्द नगरपालिका, बोया, देउराली, साङ्पाङ, नेपालेडाँडा, कुदाककाउले, चौकीडाँडा, कुलुङ्ग, खाटम्मा, दोभाने गाविसका स्थानीयबासी कामका लागि तीन दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएका छन् ।

नागरिकताका लागि तीन÷चार दिन लगाएर भोजपुर सदरमुकाम आउनुपर्ने बाध्यता रहेको जिल्लाको उत्तरी दोभानेका विर्खबहादुर राईले बताउनुभयो । दिङ्गलाबाट सेवा दिन भनेर इलाका प्रशासन कार्यालय स्थापना भएको छ तर त्यहाँ जाँदा कहिल्यै कार्यालय प्रमुख नहुने गरेको र केही दिन कुरेमा नागरिकता बन्ने कर्मचारीले बताउने गरेको कुलुङ्ग गाविसका मणि राईको भनाइ छ ।

कार्यालय प्रमुख नबस्दा अहिले इलाका प्रशासन कार्यालयले नागरिकताका लागि सम्पूर्ण काम सकेर सही गराउनका लागि मात्र जिल्ला सदरमुकाम लाने गरेको छ । यसो गर्दा १०÷१५ दिनमा मात्र नागरिकता बन्ने गरेको प्रशासनका कर्मचारीको भनाइ छ ।

कार्यालय प्रमूख बस्नेत काजमा बसेका कारण उक्त पद रिक्त नभएकाले अर्को व्यक्ति पठाउन नसकिएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिनुभयो । यस विषयमा मन्त्रालयमा समेत कुरा गरिसकेको प्रजिअ शर्माको भनाइ छ । रासस

प्रकाशित मिति: ४ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्