भोजपुरमा रुट पर्मिट बिनै गाडी सञ्चालन


 


भोजपुर, भदौ १०

भोजपुरमा रुट पर्मिट बिनै गाडी गाडी सञ्चालन हुने गरेको छ । सडक यातायातलाई व्यवस्थित बनाउन रुट पर्मिटका आधारमा मात्र सवारीसाधन चलाउनुपर्ने निर्देशन अनुसार भर्खर मात्र जिल्लामा रुट पर्मिटका लागि सडकको अवस्था सिफारिस गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भोजपुरले यातायात व्यवस्था विभाग क्षेत्रीय कार्यालयमा जिल्लाको सडकको यथार्थ विवरणको सिफारिस पठाएको हो । जिल्लामा सञ्चालनमा रहेका १० भन्दा बढी सडकको नाम, सडकको लम्बाइ, कस्ता खालका सवारीसाधन सञ्चालन गर्न सकिने, सडकमा सञ्चालन हुने यातायातका साधनमा लाग्ने यथार्थ भाडादर साथै वर्षमा सञ्चालन हुने सडकको समयावधिसमेत उल्लेख गरी जानकारीका लागि पठाइएको हो ।

लेगुवा-भाेजपुर सडक खण्डमा हिलाेमा गाडी फसेपछि तान्त्रै यात्रुहरू । तस्बिर : देशकाेन्युज
लेगुवा-भाेजपुर सडक खण्डमा हिलाेमा गाडी फसेपछि तान्त्रै यात्रुहरू । तस्बिर : देशकाेन्युज

जिल्लामा सञ्चालन भएका सडकमा लेगुवा–भोजपुर सडकखण्ड ६६ किलोमिटर, भोजपुर– चखेवा ४२ किलोमिटर, भोजपुर–ओख्रे ३४ किलोमिटर, भोजपुर–लेखर्क २३ किलोमिटर, भोजपुर–मानेभन्ज्याङ ३० किलोमिटर सडकखण्डको विस्तृत विवरण पठाइएको हो । यसैगरी, जिल्लामा सञ्चालनमा रहेका भोजपुर–दिंला ३९ किलोमिटर, दिंला–सतिघाट १७ किलोमिटर, भोजपुर–घोरेटार–रानीबास ५६ किलोमिटर र भोजपुर–बैकुण्ठे सडकका लागि पनि रुट पर्मिट निर्धारण गर्न सिफारिस गर्ने तय भएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताए ।

सिफारिस भएपछि यातायात व्यवसायीले रुट पर्मिट इजाजतपत्र लिएर मात्र सवारीसाधन चलाउनुपर्ने भएको छ । अस्थायी रुपमा दिन लागिएको इजाजतपत्र स्थायीरुपमा दिनसके थप प्रभावकारी हुने संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले बताए ।

प्रकाशित मिति: १० भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्