आन्तरिक पर्यटकले बढाए उत्साह


 


झापा मंसिर १८
पूर्वको पर्यटन उद्योगका लागि आन्तरिक पर्यटकहरु आशाको नयाँ किरण बनेर उदाएका छन् । विदेशी पर्यटक अपेक्षा अनुसार नआएको भन्दै गुनासो मात्रै गर्ने झापाका पर्यटन व्यवसायी यसपटकको हिउँदमा आन्तरिक पर्यटकको आगमनले उत्साही छन् ।

शैक्षिक तथा अवलोकन भ्रमणमा आउने स्कुल कलेज तथा विभिन्न संघ संस्थाका टोली, पारिवारिक घुमघामका लागि आउने आन्तरिक पर्यटकको संख्या उल्लेख्य भएपछि विदेशी अनुहार नखोज्ने पर्यटन क्षेत्रमा नयाँ सोचसमेत विकसित हुन थालेको छ । कुनै एउटा मात्रै सहरमा केन्द्रीत हुने पर्यटन गतिविधि आन्तरिक पर्यटकहरुकै कारण सबैतिर विस्तारित हुने मौका पाएको छ । ‘विदेशी पर्यटक आउलान् र व्यवसाय चल्छ भन्ने आशामा मात्रै रहुञ्जेल सधैँ निराश मात्रै भइयो’, झापाका होटल व्यवसायी गोपाल श्रेष्ठ भन्छन् ‘तर, जब आन्तरिक पर्यटकलाई खुला हृदयले स्वागत गर्न थालियो, यहाँको रौनक फेरिएको छ ।’

पूर्वका होटल व्यवसायी तथा पर्यटन क्षेत्रका सम्बद्धहरुको अनुभवका अनुसार विदेशी पर्यटकले भन्दा बढी खर्च आन्तरिकले गर्न थालेका छन् । सेवा प्रदान गर्दादेखि व्यवस्थापनमा पनि आन्तरिक पाहुना विदेशीको तुलनामा सजिला छन् । खर्च पनि धेरै गर्ने, खुवाउन र बसाउन पनि सजिलो हुने भएपछि पर्यटन व्यवसायी आन्तरिक पर्यटकमैत्री देखिएका हुन् । ‘पहिले–पहिले नेपाली पर्यटकलाई भन्दा गोराहरुलाई नै कोठा दिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो’, झापा काँकडभिट्टाका होटल व्यवसायी कुबेरसिंह मगरले भने ‘तर, अहिले आन्तरिक पर्यटक नै बढी आइदिए हुन्थ्यो जस्तो लाग्न थालेको छ ।’ उनका अनुसार विदेशी पर्यटकहरु निश्चित खर्च तालिका अनुसार मात्रै खर्चिन्छन् । तर, नेपाली पर्यटक खर्च गर्न लोभ गर्दैनन् ।

यसले व्यवसायीलाई राम्रो हुने उनी बताउँछन् । बढ्दै गएको रोजगारी दर, घुम्न मनपराउने जमातको संख्यामा आएको बढोत्तरी, वैदेशिक रोजगारीले बढाएको क्रय क्षमता लगायतका कारण अचेल पूर्वमा आन्तरिक पर्यटकको संख्या उल्लेख्य हुन थालेको छ । शैक्षिक भ्रमण र सहकारी संस्था, महिला समूहका भ्रमण टोलीको संख्या पनि उत्तिकै हुने गरेको छ ।
हिउँद लागेपछि शुरु भएको बनभोज लहर आन्तरिक पर्यटनलाई उचाईमा पुर्याउने अर्को प्रमुख माध्यम भएको छ । पिकनिकको सिजन शुरु भएसँगै अहिले झापाका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलमा पिकनिक खानेहरुको भीड छ । यसले आन्तरिक पर्यटनको उच्च सम्भावना देखाएको विज्ञहरु बताउँछन् ।

‘हामीलाई विदेशी मात्रै पर्यटन हुन् भन्ने भ्रम छ’, पर्यटन व्यवसायी जीवन रेग्मी भन्छन् ‘खर्च त विदेशीले भन्दा आन्तरिक पर्यटकले बढी गर्छन् । यसैगरी आन्तरिक पर्यटन फस्टाउँदै गयो भने पर्यटनको सम्भावना उज्जवल हुनेछ ।’ उनले पूर्वका पर्यटनस्थलमा पूर्वाधार विकास गर्न अझै सकिएको छैन । जसका कारण अझै ठूलो सम्भावना खेर गइरहेको छ ।

‘यदि हाम्रा पर्यटनस्थलमा भने जसरी बाटो मात्रै पुर्याउन सकियो भने मात्रै पनि आन्तरिक पर्यटकको संख्या थामिनसक्नु हुन्छ’, उनले भने ‘सरकार त्यसतर्फ अहिले कम्मर कसेर लागेको छ ।’ केही समययता झापाका जामुनखाडी सिमसार क्षेत्र, बाँसबारी सामुदायिक वन, सुखानी शहीद पार्क, दोमुखा, भुरुङ्गा शिवसताक्षी, पातालगंगा, धनुषकोटीधाम, किच्चकवध, केचनाकवल मिनि माउण्टेनलगायतका क्षेत्रमा पिकनिक जानेको भीड थामिनसक्नु छ । हिउँद याममा खुला मौसम हुने र टाढा टाढाका मनमोहक दृश्य समेत राम्ररी देख्न सकिने भएकाले जिल्लाका धेरै धार्मिक एवम् पर्यटकीयस्थल पिकनिकको गन्तव्य बन्ने गरेका छन् ।

शुरुमा कनकाई माइको दोमुखा पिकनिकका लागि निक्कै चर्चित ‘स्पट’ थियो । पछिल्लो चरणमा आएर जामुनखाडी सिमसार क्षेत्र, बासबाँरी समुदायिक वन, सुखानी शहीद पार्क, भुरुङ्गा शिवसताक्षी, पातालगंगा, किच्चकवध, केचनाकवल मिनि माउण्टेनलगायतका स्थान पनि पिकनिक खान जानेहरुका लागि रोजाइमा पर्ने गरेका छन् ।
पर्यटन क्षेत्रका सम्बद्धहरु विदेशी पर्यटकको मात्रै मुख ताकेर बस्दा निराशा मात्रै हात पर्छ । जतिसुकै धेरै आए पनि स्थलमार्ग हुँदै पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने विदेशीहरु वर्षमा पाँच हजार जति हुन्छन् । यस्तोमा विदेशी पाँच हजारभन्दा आन्तरिक २० हजार पर्यटक आइसकेका हुन्छन् ।

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्