बुढासुब्बा गोल्डकप सर्यो, मिति तय हुन बाँकी


 


धरान,मंसिर १८
मोफसलको चर्चित फुटबल प्रतियोगिता टुबोर्ग बुढासुब्बा गोल्डकपको २२ औं सँस्करणको मिति सरेको छ ।

आयोजक धरान फुटबल क्लबका अनुसार आज(बिहिबार)देखि हुनुपर्ने प्रतियोगिता विविध कारणले पछि सारिएको हो । हाल १३ औं साग खेलकुद प्रतियोगिता आयोजना भइरहेको, धरानमा मेयरको उपनिर्वाचन र सहिद स्मारक लिगको कारणले बुढासुब्बा गोल्डकप पछि सारिएको क्लबका अध्यक्ष एवं एन्फाका मानार्थ केन्द्रीय वरिष्ठ उपाध्यक्ष किसोर राईले जानकारी दिए । ‘साग खेलकुद भइरहेको छ, धरानमा उपनिर्वाचनले पनि तयारीमा प्रभाव पर्यो, फेरि मंसिर २८ देखि सहिद स्मारक लिग पनि हुने भएकोले गोल्डकप सार्नुपर्ने अवस्था भयो,’अध्यक्ष राईले भने,‘हामीले एन्फालाई पत्राचार गरेर अर्को मितिको लागि आग्रह गरिसकेका छौं ।’

यसअघि एन्फाले दिएको तालिका अनुसार क्लबले मंसिर १९ गतेदेखि २८ गतेसम्म बुढासुब्बाको २२ औं सँस्करण आयोजना गर्ने घोषणा गरिएको थियो । तर, मंसिर १४ मा धरानमा मेयरको उपनिर्वाचनले सबैको ध्यान चुनावमा केन्द्रीत भयो भने अहिले साग खेलकुद चलिरहेको छ । लगत्तै मंसिर २८ गतेदेखि फागुन ५ गतेसम्म सहिद स्मारक लिग शुरु हुँदैछ । ‘फागुन ५ गतेअघि गोल्डकप गर्न सम्भव नै नहुने भयो, त्यसैले अर्को समय तालिका मिलाएर पठाउन एन्फालाई पत्राचार गरिएको छ,’अध्यक्ष राईले भने ।

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्