मिस वर्ल्ड प्रतियोगिता : मिस नेपाल अनुष्कालाई दुई उपाधि


 



लन्डन
लन्डन एक्सेलमा सम्पन्न ६९ औं मिस वर्ल्ड प्रतियोगिताको ताज जमैकाकी टोनी एन सिंहले जितेकी छन् । प्रतिस्पर्धी अन्य एकसय १० मुलुकका सुन्दरीलाई पराजित गर्दै उनले विश्व प्रतिष्ठित ताज पहिरिएकी हुन् ।

फ्लोरिडा स्टेट युनिभर्सिटीकी ग्रयाजुएट २३ वर्षीया अश्वेत वर्णकी उनले विश्वभरका महिला तथा बालबालिकाको दीगो परिवर्तनका लागि आफ्नो उपाधि सदुपयोग गर्ने बताइन् । टोनीले मिस टयालेन्ट उपाधि पनि जितेकी छन् ।

प्रतियोगितामा मिस फ्रान्स ओफ्ली मेजिनो फर्स्ट रनर अप र मिस इन्डिया सुमन रतनसिंह रावले सेकेन्ड रनर अपको उपाधि जिते । टप पाँच मा छानिएका नाइजेरिया, ब्राजिल, इण्डिया, जमैका र फ्रान्समध्ये मिस जमैकाले मिस वर्ल्डको ताज जितेकी हुन् ।

प्रतियोगितामा कन्टिनेन्टल वीनर्समा क्यारिबियनबाट मिस ट्रिनिडाड एण्ड टोबागो, युरोपबाट मिस फ्रान्स, एसियाबाट मिस इण्डिया, अमेरिकाजबाट मिस ब्राजिल र ओसिनियाबाट मिस कुक आइल्यान्ड्सले उपाधि जिते ।

मिस नेपाल अनुष्का श्रेष्ठले दुई उपाधि जितेकी छन् । टप १२ सम्म पुगेकी अनुष्काले ‘ब्युटी वीथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ सबटाइटल अवार्ड जितेकी हुन् । अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले तिनै दुई टाइटल जितेकी थिइन् ।

टप १२ मा केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, इण्डिया, नेपाल, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रसिया र कुक आइल्यान्ड्सका सुन्दरी परेका थिए । मिस नेपाल सोही चरण (सेमिफाइनल) बाटै बाहिरिइन् । दुई अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले सबैप्रति आभार व्यक्त गरेकी छन् ।

प्रकाशित मिति: २९ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्