क्रिकेट क्रेज बढाउँदै पीपीएल


 


पोखरा, पुस ७
पोखरा प्रिमियर लिग अर्थात पीपीएल नेपालमा क्रिकेट क्रेज बढाउने महत्वपूर्ण मञ्च बनेको छ ।
आँखै अगाडि टाँसिन आइपुग्ने माछापुच्छे« र अन्नपूर्ण हिमशृङ्खलाको सुन्दर दृश्यसँग रमाउँदै खेल खेल्ने चाहना आम खेलाडीको रहने गर्दछ । फेवातालको किनार र हिमालको काखमा क्रिकेट खेल्ने त्यो चाहना पोखरामा भइरहेको पीपीएलले पूरा गर्न थालेको छ ।

पोखरा पर्यटन सँगसँगै खेलकुदको क्षेत्रमा समेत अग्रणी छ । फुटबल र भलिबलका माध्यमबाट स्वदेश तथा विदेशमा परिचित छ । दुवै खेलका बर्सेनि ठूला प्रतियोगिता यहाँ हुन्छन् । यहीँ फुटबल खेलेर अनिल गुरुङले राष्ट्रिय टोलीको कप्तानी गर्नुभयो । भलिबलमा मञ्जु गुरुङसँगै अरुणा शाहीले अहिले पनि राष्ट्रिय टोलीको कप्तानी गरिरहनुभएको छ । उहाँहरुलगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पोखराले उत्पादन गर्दै आएको छ ।

अब पोखरा फुटबल र भलिबलमा मात्र सीमित रहेन । गत वर्षबाट शुरु भएको क्रिकेटको टी–२० फ्रेञ्चाइज लिग पीपीएलले पोखरेलीलाई क्रिकेटप्रति समेत आकर्षित गराएको छ । पर्यटकीय शहरमा बर्सेनि क्रिकेटको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता शुरु भएबाट क्रिकेटको रौनक बढाएको छ । पोखराले क्रिकेट बुझ्न र खेल्ने बानीको शुरुआत गरेको छ ।

राष्ट्रिय मात्र नभई विदेशी लिगमा समेत नाम चलेका खेलाडी पीपीपएलमा खेलिरहेकाले खेल हेर्ने दर्शकको कमी छैन । हालै सम्पन्न १३ औँ सागमा महिला क्रिकेटसमेत सम्पन्न भएबाट आगामी दिनमा क्रिकेटका राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पोखराले ठूलो सम्भावना बोकेको छ ।

अहिले धेरै स्थानमा बालबालिकाहरु बल र ब्याट लिएर क्रिकेट अभ्यास गर्न शुरु गरेबाट सुखद दृश्य देखिन थालेको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

सबै उमेर समूहलाई क्रिकेटले छोएकाले क्रिकेट खेलको सुन्दर भविष्यको गोरेटो कोर्न शुरु भएको भन्दै उहाँले थप्नुभयो, “यहाँ क्रिकेटको चहलपहल र रौनक ल्याउन पीपीएलले योगदान दिएको छ । क्रिकेट आकर्षण र माहौल यसले बढाएको छ ।”

पीपीएल आयोजनासँगै सरकारले समेत क्रिकेट पूर्वाधार विकासमा ध्यान केन्द्रित गरेको छ । पोखरा रङ्गशालाभित्र रहेको क्रिकेट मैदानलाई व्यवस्थित गर्दै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । यसका लागि सङ्घ सरकारले चालू आर्थिक वर्षमा रु तीन करोड तथा प्रदेश सरकारले रु दुई करोड विनियोजन गरेका भए पनि काम भने शुरु हुन सकेको छैन ।

प्रतियोगिता चल्दै गर्दा यहाँका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका छन् । आगामी दिनमा पोखरा क्रिकेटका लागि ‘तटस्थ भूमि’ बन्नसक्ने सम्भावनासमेत उत्तिकै छ ।

राष्ट्रिय टोलीका पूर्वकप्तान एवं चितवन राइनोजका कप्तान पारस खड्काले पीपीएल क्रिकेटका माध्यमबाट पोखरालाई चिनाउने महत्वपूर्ण माध्यम बनेको बताउनुहुन्छ । क्रिकेट आकर्षण बढाउनुका साथै नयाँ खेलाडीलाई ‘एक्सपोजर’ दिएर व्यावसायिकतातर्फ उन्मुख बनाउन योगदान पुगेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अहिले क्रिकेटका ‘फलोअर’ बढेका छन्, लगानी बढेको छ । पहिला केही नभएको अवस्थामा पोखरामा क्रिकेटको जग बसाल्न पीपीएलले योगदान गरेको छ ।” खड्काले विश्वका धेरै देशका खेलाडी यहाँ आएर खेल्न इच्छुक रहेको बताउँदै क्रिकेटमार्फत देशलाई चिनाउने सफल भएको उल्लेख गर्नुभयो ।

पीपीएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले आकर्षक पुरस्कार र खेलाडीलाई प्रदान गरिएको सुविधाले प्रतियोगिताको महत्व बढाएको बताउनुभयो । पीपीएल विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसी ९अन्तर्राष्ट्रिय क्रिकेट परिषद्० ले मान्यता दिएको प्रतियोगिता हो । लामाका अनुसार स्वदेशी सँगसँगै विदेशी खेलाडीसमेत खेलिरहेको र संसारले पोखरालाई हेरिरहेकाले क्रिकेटले विकास र पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको छ ।

“पीपीएलमा राम्रो फिडब्याक छ, कर्पोरेट हाउसको लगानी छ । खेलाडी विकास र पूर्वाधार विकासमा यसले योगदान दिँदै भौतिक पूर्वाधार निर्माणमा सहयोग पु¥याएको छ”, लामाले थप्नुभयो ।

प्रकाशित मिति: ७ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्