कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्ड : चार विधाको मनोनयन सार्वजनिक


 



धनगढी, पुस १०
धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली हस्पिटल भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा कैलाली हस्पिटलसँग सम्झौता गरिएको धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।

अब पहिलो पटक सुदूरपश्चिममा हुन लागेको अवार्डको नाम प्रथम कैलाली हस्पिटल सुदुरपश्चिम स्पोर्टस रहनेछ । कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र नेपाल खेलकुद पत्रकार मञ्चका सल्लाहकार दीपक उपाध्याय बीचमा मुख्य प्रायोजन सम्बन्धमा सम्झौता भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा अवार्डको मुख्य प्रायोजक कैलाली हस्पिटलका अध्यक्ष जनकराज जोशीले अवार्डमा जोडिने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे । उनले अवार्डको सफलताको कामना गर्दै अवार्डले निरन्तरता पाउनुपर्नेमा जोड समेत दिए । जोशीले पत्रकार सम्मेलनमै अवार्डमा थप सहयोग गर्ने घोषणा समेत गरे ।

अवार्डको प्रवद्र्धकसमेत रहेको कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सुदूरपश्चिममा नयाँ अभ्यासको थालनी भएकोमा खुसी व्यक्त गरे । निजी क्षेत्रलाई अवार्डमा जोडिन आग्रह गर्दै ओझाले पनि व्यक्तिगत सहयोगको समेत घोषणा गरे ।

पत्रकार सम्मेलनमै पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले आवार्डमा जोडिएका प्रायोजकलाई धन्यवाद ज्ञापन गर्दै सफलताको कामना गरे । मुख्य प्रायोजक कैलाली हस्पिटल र सह–प्रायोजक शौभाग्यश्वर फार्मेसी रहेको अवार्डमा वर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, वर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका छन् ।

मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिति रहेको छ भने प्रवद्र्धकको रुपमा घोडाघोडी नगरपालिका सहित सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेको छ ।

त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार रहेका छन् । धनगढीको ओम प्यालेसमा आयोजना हुने अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ । त्यसमा विभिन्न सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु पनि समावेश गरिनेछ ।

पुस १५ गते धनगढीमा आयोजना हुन गईरहेको प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७६ का लागि चार विधाको मनोनयन पनि सार्वजनिक गरिएको छ । विभिन्न ६ वटा विधामा दिईने अवार्ड मध्ये चार विधाका लागि आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मनोनयन सार्वजनिक गरेको हो ।

शारदा राईस मिल बर्ष पुरुष खेलाडीमा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका खड्क वोहोरा र भारात्तोलनका सागर भण्डारी मनोनयनमा पर्नुभएको छ । निसर्ग हस्पिटल बर्ष महिला खेलाडीको मनोनयनमा क्रिकेटकी कविता कुँवर, कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्ट रहेकी छिन् भने दिनेश सोप बर्ष प्रशिक्षकमा भारात्तोलनका जीवन गौतम, कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका छन् ।

केटिएम वाईक बर्ष युवा खेलाडीमा भारात्तोलनका सागर भण्डारी, फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती मनोनयनमा रहेको पत्रकार सम्मेलनमा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले सार्वजनिक गरे ।

‘माया मेट्रो हस्पिटल स्पेशल अवार्ड र ठाकुर ग्रुप लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिन पुस १५ मा नै गरिनेछ,’ अध्यक्ष ओझाले भने, ‘चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ ।’

अध्यक्ष ओझाले सुदूरपश्चिम क्षेत्रको नीजि क्षेत्रबाट मात्रै अवार्ड आयोजना गर्न सहयोग भएको बताए । प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७६ का संयोजक तथा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदिप पाठकले अवार्डको तयारी ७० प्रतिशत सम्पन्न भइसकेको बताए । उनले मनोनयमा परेका तीन/तीन जना खेलाडीमध्ये पछिल्लो एक वर्षको उत्कृष्ट प्रदर्शनका आधारमा विजेता खेलाडी छनोट हुने जानकारी दिए ।

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्