ठूलाे परिणाममा चरेस बरामद


 


बजार मूल्य करिव १ करोड

काठमाडौँ, भदाै २१

धादिङमा उत्पादन भएको र भारततर्फ निकाशी गर्न लागेको ठूलोमात्रामा चरेस बरामद भएको छ । धादिङबाट मुग्लिङतर्फ जँदै गरेको ना३ख ६३५२ नम्बरको ट्रकबाट प्रहरीले २ सय ८२ किलो चरेश बरामद गरेको हो । मंगलबार बिहान चितवनको दारेचोक–४ स्थित मुग्लिङ बजारमा प्रहरीले चेकजाँच गर्दा ट्रकमा रहेको २ सय ५२ वटा प्याकेटमा उक्त चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक र ट्रक चालक मकवानपुरको नामटारका ३० वर्षीय कुमार गोलेलाई नियन्त्रणमा लिएको छ । चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार चरेस निकाशी गर्ने व्यक्तिको पहिचान खुल्न सकेको छैन । अनुसन्धानकै क्रममा रहेको भन्दै एसपी कुँवरले भने, ‘बरामद भएको चरेसको नेपालमा बजार मूल्य करिव १ करोड रुपैयाँ पर्छ ।’

यस्तै काठमाडौँ महानगरपालिका–३४ भिमसेनगोलामार्गका ३२ बर्षीय दमन गिरी र ३१ को रोशन थापालाई प्रहरीले लागू औषध चरेश ६ सय ग्राम, डाईजोपाम ३८ एम्पुल, नुरफिन ३८ एम्पुल, फेनारगन ३८ एम्पुल र नगद ८ सय रुपैयाँ सहित पक्राउ गरेको छ । गिरीले कोठामा लागूऔषध राखेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले सोमबार उक्त लागूऔषध बरामद गरेको हो ।

बैतडीको दशरथचन्द नगरपालिका–८ त्रिपुराका ३३ बर्षीय योगेन्द्रकुमार थापालाई प्रहरीले लागूऔषध चरेश २ सय ग्राम सहित पक्राउ गरेको छ । प्रहरील उनको पसल खानतलासी गर्दा प्लाष्टिकको सेतो डिव्वा र टिनको रातो डिब्बामा काउन्टर भित्र लुकाई राखेको अवस्थामा उक्त चरेश बरामद भएको हो ।

प्रकाशित मिति: २१ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्